ओलीलाई एक्ल्याउन वामदेव निवासमा गोप्य छलफल - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ओलीलाई एक्ल्याउन वामदेव निवासमा गोप्य छलफल



काठमाडौं- सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ।

भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए।

सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन्। तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्।

सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

छलफल सभामुख चयन र एमसीसीका विषयमा केन्द्रित भएको स्रोतले जनायो। यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा यस्तै गोप्य छलफल गरेका थिए।

त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि त्यस्तो छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो। यसपटक भने सचिवालय सदस्य गौतमको निवासमै नेताहरूले गोप्य छलफल गरेका थिए।