राजपा केन्द्रीय नेताले गरे ५ अर्ब ठगी: २ सय विपन्न परिवारको बिल्लीबाँठ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

राजपा केन्द्रीय नेताले गरे ५ अर्ब ठगी: २ सय विपन्न परिवारको बिल्लीबाँठ



काठमाडौं- मिटर ब्याज काण्डमा श्याम परदेशी पछी सर्लाहीमा अर्को समुहले दुई सय विपन्न परिवारलाई बिल्लीबाँठ पारेको भेटिएको छ ।

झन्डै दुईसय विपन्न परिवारलाई ऋण दिएर उनीहरुबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन अघि बढाएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले प्रहरीमार्फत् त्यसखालको घटनाको छानबिन प्रक्रिया अघि बढ्ने जनाए ।

उता राजपाका अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले आफूहरुले सो सम्बन्धमा बुझ्ने जनाएका छन् ।

रामबाबु यादव घर जग्गा कारोबारी भएको जनाइएको छ । सर्लाही मलंगवा १ का यादव र सोनवर्षाका सञ्जय साह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब भन्दा बढी ठगी गरेको गुनासो सहित पीडित गृह मन्त्रालयमा आएपछि छानबिन सुरु गरिएको जनाइएको छ ।

गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको जनाइएको छ ।

यसअघि पीडितहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा गएका थिए । उनको सुझावअनुसार गृहमा पीडितले उजुरी हालेका हुन् ।