यतिसम्म गर्दा पनि भेला रोक्न सकेनन् देउवाले - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यतिसम्म गर्दा पनि भेला रोक्न सकेनन् देउवाले



काठमाडौं- कांग्रेस पार्टी मुख्यालयमा संस्थापनइतर पक्ष सोमबार जिल्ला सभापतिको भेलामा जुट्दै गर्दा बूढानीलकण्ठमा बसेर सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न हरतरहको प्रयत्न गर्दै थिए। देउवाले बिहानै महामन्त्री शशांक कोइरालाई फोन गरेर ‘भेला रोक्न’ आग्रह गरे।

‘सभापतिहरूको भेला नै चाहिएको भए म आफैं बोलाइदिन्थे, यसरी छुट्टै भेला किन बोलाउनुपर्थ्यो र? यसलाई रोक्नुपर्‍यो,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘के–के विषयमा मिलाउनुपर्छ, आउनुहोस् कुरा गरौं तर भेला रोक्नुस्।’

जवाफमा शशांक धेरै बोलेनन्। भेला नभएर जिल्ला सभापतिहरूसँग परामर्श मात्रै रहेको प्रस्टीकरण उनले दिए। ‘हामी उहाँहरूसँग परामर्श गर्छौं, तपाईं पनि सहमतिका लागि तयार हुनुहोस्,’ कोइरालाको जवाफ थियो।

भेलामा बढीभन्दा बढी सभापतिलाई उपस्थिति बनाउन संस्थापनइतरका नेताहरू केही दिनदेखि नै खटिएका थिए। उसैगरी उनीहरूलाई रोक्न सभापति देउवा सक्रिय थिए। सभापति र उनी निकट नेताहरूले जिल्ला–जिल्लामा फोन गरेर सभापतिहरूलाई ‘नआउन’ दबाब दिएका थिए।

दुवै पक्षको कसरतका बीच भेलाको पहिलो दिन ४३ जिल्ला सभापति सहभागी भए। मंगलबार संख्या अझै बढ्ने नेताहरूको दाबी छ। बढी सभापतिलाई सहभागी गराउन भेला केही दिन जारी राख्ने सोच नेताहरूले बनाएका छन्। यो खबर आजको कान्तिपुरमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

केन्द्रीय कार्यसमितिमा देउवाको पकड छ। केन्द्रदेखि तल्ला तहका संरचनामा भने संस्थापनइतर पक्ष हावी छ । ‘विवाद बढ्दै जाँदा जिल्लामा आफ्नै निर्देशन पालना नहुने हो कि भन्ने डर नेतृत्वमा छ,’ एक नेताले भने, ‘दबाब बढेपछि सभापति केही हच्किनुभएको छ।’ पुस ११ को निर्णय सच्याएर भए पनि मिलाउने पक्षमा देउवा देखिएको ती नेताको दाबी छ।