टेङ्गा नदिमा पक्की पुलको शिलान्यास - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

टेङ्गा नदिमा पक्की पुलको शिलान्यास



विशाल पाण्डेय / सुखड,कैलाली
कैलालीको घोडाघोडी नगरपालिका- ४ र ५ जोड्ने टेङ्गा खोलामा पक्की पुल बन्ने भएको छ । गणेशपुर – शितलपुर जोड्ने टेङ्गा नदिमा पक्की पुलको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले आइतबार शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बोहराले बिकासका लागि तिनै तहको सरकारमा सहकार्य हुन अति आवश्यक रहेको बताएका छन् । बिकासको सवालमा राजनितिक लडाइ नगरि एक आपसमा समन्वय गरि अघि बढ्नु पर्नेमा मन्त्री बोहराले जोड दिएका छन् ।

उनले दिर्घकालिन उपयोग गर्ने गरि योजनाहरु बनाउन आग्रह समेत गरेका छन् । सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा पुर्बाधारका बिकासहरु सुरु गरिसकेकाले धेरै ठाउँमा झोलुङ्गे पुल,पक्कि पुल लगायतका कामहरु सुरु भइसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद अमर साउँदले घोडाघोडी नगरपालिकामा यस्ता ४ ओटा पुल निमार्णको लागी भौतिक पुर्वाधार विकास मन्त्रालयमा प्रस्ताब पेश गरेको जानकारी दिए । उनले स्थानियको अन्य समस्याहरुलाइ पनि मध्यनजर गर्दै अन्य बिकासका कामहरु पनि छिट्टै अघि बढाउने आश्वासन समेत दिएका छन् ।

यसैगरी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले पुल समयमा सम्पन्न गर्न निमार्ण कम्पनीलाई आग्रह गरेका छन् । नगर प्रमुख चौधरीले सबै भन्दा बढि कार्यान्वयनको जिम्मेवारी स्थानिय सरकारको भएपनि साना योजनाहरु पनि प्रदेश सरकारले नै कार्यान्वयन गरेको बताए ।

उनले भने, “करिब १० करोड भन्दा माथिको योजनाहरु मात्र प्रदेशले गर्नु पर्ने प्रावधान ल्याउनु पर्छ । साना योजनाहरु कार्यान्वयन गर्ने सामर्थ्य स्थानिय तहले राख्दछ ।” फरक प्रसंगमा बोल्दै नगर प्रमुख चौधरीले , माग्न गए मात्र बजेट पाइने बताए । माग्न गएमात्रै बजेट पाइने रहेछ ,आफुहरु माग्न नगएपछी बजेट पाइएन उनले भने , “फाइल बोकेर मन्त्रालय धाउन नपरोस् भनेर गणतन्त्र ल्याइएको अर्थ नै रहेन ।” नगर प्रमुख चौधरीले इष्टमित्रलाई मात्र प्रदेशको योजनाहरु पारेको समेत आरोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको ४ करोड ९४ लाख २५ हजार रुपैयाँमा गणेशपुर – शितलपुर जोड्ने पक्कि पुल निमार्ण हुन लागेको हो । पुलको लम्बाई ३८ मिटर छ भने चौडाई ८ दशम्लब ४ मिटर रहेको छ । वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बन्न लागेको पक्कि पुलको निमार्ण जय विष्णु निमार्ण सेवा प्रा.लि काठमाडौंले गर्ने भएको छ । पुल निर्माण हुने भएपछि आवतजावतमा सहज हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

घोडाघोडी नगरपालिकाका वडा नं ४ का वडाध्यक्ष टेक बहादुर बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष प्रेम बहादुर रोकायाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मन बहादुर रावलले गरेका थिए ।