बामदेवले मागे प्रधानमन्त्री, बैठकमा छायो सन्नाटा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बामदेवले मागे प्रधानमन्त्री, बैठकमा छायो सन्नाटा



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमले ‘संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने ढोका खोलिदिनू भनेपछि सन्नाटा छायो ।

बिहीबार बसेको बैठकमा उनले यस्तो प्रस्ताव गरेपछि उपस्थित नेताहरू मुखामुख गरेका थिए ।

राष्ट्रिय सभाका उम्मेदवार र प्रतिनिधि सभाका सभामुखका उम्मेदवार टुंगो गर्न बसेको सचिवालय बैठकमा वामदेवले राखेको प्रस्ताव थियो, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठक वामदेवको यही प्रस्तावका कारण स्थगित भएको थियो।

दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वामदेवलाई राष्ट्रिय सभामा लैजान तयार थिए तर बिनाशर्त।

अध्यक्षद्वयले राष्ट्रियसभामा पठाउन वामदेव र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनाको नाम पनि प्रस्ताव गरिसकेका थिए। तर वामदेवले संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बन्‍ने बाटो खोलिदिने भए मात्रै राष्ट्रिय सभामा जाने अडान लिएपछि केही बेर विवाद भएको थियो।

वामदेवको प्रस्तावले अनिर्णित भएको सचिवालय बैठक शुक्रबारमा फेरि बस्यो। शुक्रबार बसेको बैठकमा पनि वामदेवको संविधान संशोधन प्रस्तावलाई लिएर लामो छलफल भयो। उक्त छलफलका क्रममा अध्यक्षद्वयले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने संवैधानिक व्यवस्थालाई फेरबदल गर्न नसकिने बताएका थिए।

स्रोतका अनुसार दुवै अध्यक्षले देशमा लामो समय अस्थिर सरकार रहेको अवस्थामा यो पटकको जनादेश पाँच वर्षसम्म स्थिर सरकारको पक्षमा रहेकाले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने मत राखेका थिए। दुवै अध्यक्षले वामदवेवको प्रधानमन्त्री बन्ने आकांक्षासहितको प्रस्तावलाई अस्वीकार गरेपनि नेकपाले मनोनित गर्ने एउटा पद खाली राख्दै राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवार तय गरिसकेको छ।

हाल अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको ठाउँमा राष्ट्रपतिले मनोनयन गर्ने गरी एउटा पद खाली रहेको छ। ‘वामदेव कमरेडले आफ्ना लागि शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत भुलेर प्रधानमन्त्रीको प्रस्ताव गर्नु अनुचित थियो’, एक सचिवालय सदस्यले भने, ‘प्रत्यक्ष निर्वाचित नै प्रधानमन्त्री हुने संवैधानिक व्यवस्थालाई एकजना व्यक्तिका लागि फेरबदल गर्न नसकिने पक्षमा दुई अध्यक्ष उभिनुभयो।’ तर दुवै अध्यक्षले प्रधानमन्त्री बन्ने आकांक्षामा पूर्णविराम लगाइदिएपछि वामदेवले राष्ट्रिय सभामा जान अस्वीकार गरेका छन्।

उनले राष्ट्रिय सभामा जान अस्वीकार गरेसँगै नेकपाले १६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

वामदेवको उक्त प्रस्ताव राजनीतिक सिद्धान्तसँग असम्बन्धित रहेको बताउँछन् नेकपाका अर्का नेता। ‘कुनै नेताले पनि राजनीतिक नीति र सिद्धान्तबाहिरको कुरा गर्नुहुँदैन’, उनले भने, ‘अहिलेको अपरिहार्यता ५ वर्षसम्म स्थिर सरकार हो। यो सरकारले जनतालाई स्थिरता दिने बाचा गरेको ।’

अहिलेसम्म मरिचमान सिंह नेतृत्वको सरकारले सबैभन्दा बढी तीन वर्षसम्म शासन चलाएको प्रसंग निकाल्दै ती नेताले वामदेवको प्रस्तावलाई स्थिरताको उल्टो दिशा जाने कोशिशको संज्ञा दिए । यसबारेमा नेता वामदेवसँग बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया नदिने बताए ।