प्रचण्डको आडमा डीआइजीको निर्देशन नमान्ने एसपी दानबहादुर - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रचण्डको आडमा डीआइजीको निर्देशन नमान्ने एसपी दानबहादुर



काठमाडौँ- प्रदेश प्रहरीले जिल्ला छाड्न निर्देशन दिएको २४ घन्टा बित्न लाग्दा पनि चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सरुवा हुन मानेका छैनन्। प्रहरी प्रधान कार्यालयले केही साता अघि एसपीहरुको सरुवा निकाल्दा मल्लको पनि सरुवा भएको थियो।

एसपी गंगा पन्तलाई चितवनमा सरुवा गरिएको थियो। तर एसपी मल्लले जिल्ला छाड्न तयार नभएपछि बुधबार तालुकदार निकाय प्रदेश-३ प्रहरीले चितवन जिल्ला प्रहरीलाई पत्र लेख्दै २४ घन्टाभित्र मल्ललाई रमाना हुन निर्देशन दिएको थियो। जिल्ला छाड्नुअघि आफूभन्दा एक तल मुनीको अधिकारीसँग रमाना लिनुपर्ने प्रावधान छ।

प्रदेश-३ प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले रमाना भएको जानकारी नभएपनि मल्लले जिल्ला छाड्न लागेको बताए। ‘रमाना भइसकेपछि जानकारी पाउँ भन्ने हाम्रो पत्राचार थियो। हामीले बुझेअनुसार उहाँले छाड्न लाग्नु भएको छ। तर छाडिसकेको जानकारी भने प्राप्त भएको छैन’, बस्नेतले भने।

कार्यालय प्रमुखहरुको सरुवा हुँदा रमाना लिएर सजिलै छाड्ने चलन छ। तर राजनीतिक आडमा सरुवा हुन नमानेका घटनाहरु पनि छन्। यसअघि जिल्लासहित विभिन्न प्रहरी युनिटका प्रमुखहरुले सरुवा हुँदा पनि नेतृत्व छाड्न तयार भएका थिएनन्। एसपी मिरा चौधरीको धनुषामा सरुवा भएर पनि तत्कालिन जिल्ला प्रमुखले छाड्न नमानेपछि उनी त्यहाँ जान सकिनन्।

बाँकेको कोहलपुर इलाका प्रहरी प्रमुख हेमबहादुर शाहीको पनि सरुवा भइसकेको छ तर उनले पनि त्यस ठाउँ छाडेका छैनन्। सामान्यतया कार्यालय प्रमुखको हकमा सरुवा भएको एक वर्षभन्दा कम समयमा विना कारण त्यहाँबाट हटाउन नपाउने प्रावधान छ।

मल्ल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व पीएसओ हुन्। प्रचण्डको पीएसओ भएकै समयमा उनी पदोन्नती भएर डीएसपी भएका थिए। लगत्तै उनी आकर्षक मानिने महानगरीय प्रहरी वृत दरबारमार्गको नेतृत्व गर्ने अवसर पाएका थिए। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरी विवादमा आएको थियो। चितवन प्रचण्डको गृहजिल्ला हो।

यस प्रकरणमा चर्चित सन्चारकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्धा चलेको थियो। पर्याप्त प्रमाण अभाव भएको भन्दै चितवन जिल्ला अदालतले लामिछानेसहित सबै प्रतिवादीलाई तारेखमा छाडेको थियो, दुई जनासँग धरौटी मागेर र एक जनालाई साधारण तारेखमा छाडेर।