ज्ञानेन्द्र शाहको चियाबगानले तिरेन साढे पाँच करोड कर - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ज्ञानेन्द्र शाहको चियाबगानले तिरेन साढे पाँच करोड कर



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको खबर चिरिन्जीवी घिमिरेले नयाँ पत्रिकामा लेखेका छन् ।

हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए ।

हामी पूर्वराजालाई चिन्दैनौँ : मेयर ओली

हिमालय–महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन । ‘हामीले पटक–पटक ताकेता गरेका छौँ । धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ (गार्डेनमा) भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन् । नगरपालिकाले पूर्वराजालाई चिन्दैन । यो त कम्पनीको नाममा छ । हामी कम्पनीलाई मात्रै चिन्छौँ ।’

नगरपालिकाले बगानका प्रतिनिधि बोलाएर पटक–पटक छलफलसमेत गरेको छ । तर, बगानका प्रतिनिधिले खेतीयोग्य क्षेत्र भन्दै कर तिर्न अस्वीकार गर्दै आएका छन् । दमक नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहाल (ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका) को नेतृत्वमा ०७३ मा दमकका राजनीतिक दलका नेतासहित पूर्वराजा शाह आएको समयमा बगानमा भेट्न पुगे । त्यतिवेला पूर्वराजाले कर तिर्ने प्रतिबद्धता जनाएका थिए ।

जसरी भए पनि कर उठाएरै छाड्ने मेयर ओली बताउँछन् । ‘अहिलेसम्म त केही गरेका छैनौँ । आग्रह मात्र गर्दै आएका छौँ,’ ओलीले भने, ‘तर, पछि बगानको काम वा सिफारिस रोकेर भए पनि कर उठाउँछौँ ।’

हामीलाई थाहा हुँदैन : बगानका उपप्रबन्धक
बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले करबारे आफूहरूलाई जानकारी नभएको बताए । ‘नगरपालिकाबाट पटक–पटक पत्र आएको छ । हामीले सबै पत्र माथि (सोल्टी ग्रुप) पठाएका छौँ,’ उनले भने, ‘यति थाहा छ कि १२–१५ वर्षदेखि बगानको कर तिर्न बाँकी छ । तर, हामीलाई अरू केही थाहा हुँदैन ।’

यो चिया बगान पूर्वराज परिवारले ०१८ मा स्थापना गरेका थिए । पञ्चायतकालमा ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको यो बगान बहुदलकालमा ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’का नाममा सञ्चालन हुँदै आएको छ ।