काठमाडौंको फोहोर अब कहाँ फाल्ने ? - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

काठमाडौंको फोहोर अब कहाँ फाल्ने ?



काठमाडौं- नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो।

दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ।

काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भने, ‘एकातिर सिसडोलको क्षमता नै भरियो, अर्कातिर स्थानीयवासीका गुनासा र अवरोधबीच अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।’

काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ वटा नगरको फोहोर फालिँदै आएको छ।

वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ।

गएको मङ्सिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै फोहोर कोच्याइएको छ। यो खबर आजको गोरखापत्रमा शान्ति लामाले लेखेकी छन्।

सिसडोलदेखि बन्चरे डाँडासम्मको १।९ किलोमिटर सडक निर्माणको काम सडक विभागले अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइट निर्माणको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ।