नेपाल-चीन सम्बन्धले भारतीय पत्रकार तनावमा: भारतलाई सच्चिन आग्रह - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाल-चीन सम्बन्धले भारतीय पत्रकार तनावमा: भारतलाई सच्चिन आग्रह



विरगंज- नेपालमा चीनको प्रभाव बढेको भन्दै भारतीय सञ्चारक्षेत्र त्रसित बनेको छ । नेपालमा बढ्दो चिनियाँ प्रभावबाट उनीहरू निकै नै चिन्तित पनि छन् ।

चिनियाँ सम्बन्धले नेपाल भारतको प्राचिन एमव् रोटीबेटीको सम्बन्धमा नकारात्मक प्रभाव परीरहेकोमा भारतीय संचारकर्मीहरुले चिन्ता समेत ब्यक्त गर्ने गरेकोआ छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासले आइतबार वीरगन्जमा आयोजना गरेको ‘क्रस बोर्डर जर्नलिष्ट मिट’ मा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

वक्ताका रुपमा बोलाइएका भारतीय अखबार प्रभात खबरका जयनगर–मधुबनी व्यूरो चिफ ललित झाले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको केन्द्र बन्दै गएको आरोप लगाए ।

उनले पछिल्लो केही बर्ष यता चीन, युरोप, अमेरिका, आ–आफ्नै किसिमले नेपालको राजनीतिमा प्रभाव पार्न उद्धत रहेको दाबी पनि गरे ।

नेपाली राजनीतिमा भारतको उपस्थिति कम हुँदै गएको बताउँदै उनले पछिल्लो समय दुवै देशको सम्बन्ध त्यति न्यानो नरहेको पनि टिप्पणी गरे ।

यसो हुनुमा चीन एउटा प्रमुख कारक रहेको दाबी गर्दै उनले नेपालको सबै क्षेत्रमा चीनको प्रभाव बढदै गएको र त्यसको पछिल्लो उदाहरण काठमाडौं केरुङ मार्ग रहेको आरोप लगाए ।

भारतीय च्यानल आजतकका सम्पादक सुजित कुमार झाले पनि पछिल्लो केही बर्षयता नेपालमा चीनको प्रभाव बढ्नु चिन्ताको बिषय बनेको बताए ।

‘भारतलाई अझै पनि नेपालमा आफ्नो प्रभाव छ भन्ने भ्रम छ,’ उनले भने, ‘भारत यस बिषयमा सच्चिन जरुरी छ ।’

सहभागी अन्य भारतीय संचारकर्मीहरुले पनि खुल्ला छलफलमा नेपालमा चिनिया प्रभाव बढ्दै गएको भन्दै चिन्ता जाहेर गरेका थिए ।

राजधानीबाट प्रकाशित हुने हिन्दी मासिक ‘हिमालिनी’ की सम्पादक श्वेता दिप्तिले एक अर्का मुलुकका जनतालाई दुबै देशमा रोजगारी तथा अन्य प्रयोजनमा पनि समस्या रहेको औल्याउदै उनले दुबै देशका सरकारले नागरिक स्तरमा रहेको समस्या समाधान गर्नु पर्ने सुझाइन ।

माउन्टेन टेलिविजनका वीरगन्ज व्युरो प्रमुख महेश दासले नेपालमा चिनियाँ गतिविधि देखिदैमा भारत सरकार वा भारतीय मिडिया चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले हालै चिनियाँ राष्ट्रपतिको भारत भ्रमण लगत्तै नेपाल आएको स्मरण गर्दै राष्ट्रपतिको भारत भ्रमणको समयमा भारतमा चीनको प्रभाव नबढ्ने तर उनी नेपाल आए लगत्तै नेपालमा चिनियाँ प्रभाव बढेको प्रपोगाण्डा भारतीय मिडियाले गर्नु अनुचित रहेको बताए ।

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका निमित्त महावाणिज्यदुत रमेश प्रसाद चतुर्वेदी, वाणिज्यदुत डा कोट्रास्वामी, अर्का वाणिज्यदुत सुरेश कुमार लगायतकाले दुबै मुलुकको सीमा क्षेत्रमा रहेका बिभिन्न खाले समस्याहरुलाई उजागर गरी तिनको समाधानका लागि दुबै मुलुकका संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले यस तर्फ सक्रिय रुपमा कलम चलाउन दुबै मुलुकका संचारकर्मीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल र भारतका दुई दजर्न बढी संचारकर्मी सहभागी थिए ।