रोगी, वृद्ध, असक्षमले सत्ता नछोड्दा मुलुक समस्यामा- झलनाथ खनाल - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोगी, वृद्ध, असक्षमले सत्ता नछोड्दा मुलुक समस्यामा- झलनाथ खनाल



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले सत्तामा रहिरहने नेताहरूको प्रवृतिबारे व्यंग्य गरेका छन् । उनले यस्तो सोंच सामन्ती भएकोले यस्तो प्रवृत्तिले देश र जनताको भविष्य राम्रो दिशातिर नजाने बताएका छन् ।

पछिल्लो समय पार्टीमा देखिएको नेतृत्वमोहलाई लक्षित गर्दै नेता खनालले ब्रह्मनालमा नपुग्दासम्म सत्ता नछोड्ने जुन खालको मनोवृत्ति छ त्यो अत्यन्त घातक,आत्मकेन्द्रित र आत्मचिन्तनले ग्रस्त मनोवृत्ति भएको बताएका हुन्।

‘बूढापाकाहरू जो हुँदै जान्छन् उनीहरूको काम संस्मरण लेख्ने हो, अरूलाई शिक्षित गर्ने हो, उनले भने ।

यो उमेरमा अरूको अभिभावकका रूपमा भूमिका खेल्नुपर्ने, नयाँलाई सिकाउनुपर्ने र आराम गर्नुपर्ने बेला भएको पनि उनले बताए ।

यस्तो नभएर ब्रह्मनालमा नपुग्दासम्म सत्ता नछोड्ने जुन खालको मनोवृत्ति हो त्यो मनोवृत्ति अत्यन्त घातक, आत्मकेन्द्रित र आत्मचिन्तनले ग्रस्त मनोवृत्ति हो । त्यो सामन्ती मनोवृत्ति नै हो। राजामहाराजाहरू पनि मरेपछि मात्रै गद्दी छोड्छन् नि ।

मरेपछि मात्रै गद्दी छोड्ने मनोवृत्ति सामन्ती राजतन्त्रात्मक मनोवृत्ति हो त्यो’, उनले यो कुरा देशको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘त्यो मनोवृत्तिबाट पार्टीका सबै नेताहरू मुक्त हुनुपर्छ र हरेक बेलामा नयाँ र युवा जेनेरेसनलाई प्राथमिकता दिने काम गर्नुपर्छ ।’

‘त्यो काम गर्न सक्यौ भने मात्रै वास्तविक आन्दोलन पनि अगाडि बढ्छ । पार्टी पनि सुदृढ हुन्छ र देशलाई अगुवाइ गर्न सकिन्छ’ उनले भने ।

उनले हरेक पार्टीले नेतृत्व पंक्ति निर्माण गर्दाखेरि बूढापाकाहरुको पंक्ति, अधबैंसे र युवाहरुको पंक्ति यी तीनवटा पंक्तिलाई लिएर निर्माण गर्नुपर्ने बताएका छन्। हरेक कमिटीहरु निर्माण गर्दा पनि त्यसमा ख्याल गर्नुपर्ने उनको धारणा छ ।