बास्कोटा भन्छन: यत्रो बहुमत छ सरकारले किन लिने विश्वासको मत ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बास्कोटा भन्छन: यत्रो बहुमत छ सरकारले किन लिने विश्वासको मत ?



काठमाडौं- संघीय समाजवादी पार्टीले सरकार छाडेपछि वर्तमान सरकारले विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग सहज बहुमत रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले ‘सरकारले विश्वासको मत लिनैपर्ने गरी बहुमत गुमाएको छ र ?’ भन्दै विश्वासको मत लिनुपर्ने अवस्थामा पनि ‘त्यो कुनै महाभारतको विषय होइन’–भने ।

व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सरकारी जग्गाहरु ‘लिज’मा

आक्रामकरुपमा प्रस्तुत भएका सन्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सरकारी स्वामित्वमा रहेका जग्गाहरु ‘लिज’मा दिइएको तर्क गरे ।

नेपाल ट्रस्टको जग्गा गोकर्ण फरेस्टमात्रै नभएको भन्दै उनले आर्थिक प्रबन्ध हेरेर लिज अवधि बढाइएको बताए ।

‘नेपाल ट्रस्टको एउटामात्रै सम्पत्ति गोकर्ण रिसोर्ट होइन, धेरै ठाउँमा छ । व्यवसायीहरुलाई प्रोत्साहन गर्ने सरकारको नीति छ ।

सरकारको सम्पत्ति कसैलाई अनधिकृत दोहन गर्ने छुट छैन । सरकारी नियम, कानुन, व्यवस्था सबै कुराको प्रक्रिया र आर्थिक प्रबन्धहरुलाईसमेत मध्यनजर राखेर त्यो भएको छ’–उनले भने ।

अरु कसैलाई उक्त ठाउँ चाहिएको भए २५/३० वर्ष कुर्न उनले आग्रह गरे ।

सो अवसरमा मन्त्री बाँस्कोटाले यही पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ ओटा निर्णयहरु सार्वजनिक गरेका थिए ।