आइजीपीमाथि सङ्कट: एसपीहरूको सरुवा रद्द हुने, दानबहादुर चितवनमै - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आइजीपीमाथि सङ्कट: एसपीहरूको सरुवा रद्द हुने, दानबहादुर चितवनमै



काठमाडौं– नेपाल प्रहरीको एसपी सरुवा विवादमा परेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पुष ४ गते २४ जना एसपीहरुको सरुवा गरेका थिए ।

खनालले पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्लाका एसपी दानबहादुर मल्ललाई ७ महिनामै सरुवा गरेपछि एसपी सरुवामा विवाद आएको हो ।

एसपी मल्ललाई विना कुनै कारण एक वर्ष नपुग्दै सरुवा गरेपछि आईजिपी खनालले गरेको सरुवा रद्द हुने भएको छ ।

खनालले एसपीको ठाउंमा गंगा पन्तलाई चितवन प्रहरी प्रमुखको रुपमा सरुवा गरेका थिए । मल्ल प्रचण्ड प्रधानमन्त्री हुंदाका पिएसओ समेत हुन् । प्रहरी महानिरीक्षक खनालले गृहसचिव प्रेम राईलाई समेत गुमराहमा पारेर मल्लको सरुवा गरेको स्रोतको दाबी छ ।

स्रोतकाअनुसार उनले गृहसचिव राईलाई चितवनको एसपी सरुवा गर्ने विषयमा नेकपा अध्यक्ष प्रचण्डसंगको सल्लाहमा भएको भनेपछि गृहमन्त्री र सचिव सहमत भएका थिए । एसपी पन्त प्रहरी महानिरीक्षक खनाल निकट अधिकृत हुन् ।

पन्तको सरुवा बिवादमा आएपछि गृहमन्त्री रामबहादुर थापाले गृहसचिव राईलाई पन्तको सरुवा रोक्न निर्देशन दिएका छन् । तर खनालले पन्तलाई नै चितवन पठाउन खोजेका छन् । पन्त चितवन जान राजनीतिक लविङ्गमा लागेकी छन् । विगतमा प्रचण्डलाई फेसबुकमा श्रद्धाञ्जली लेखेको विषयमा पन्त विवादमा परेकी थिइन् ।

खनालले चितवनका एसपी दानबहादुर मल्ललाई टेलिफोन गरेर सरुवा भएको ठाउंमा गइदिन आग्रह गरेका छन् । चितवनमा पत्रकार रवि लामिछाने प्रकरणमा समेत खनालले उनलाई भेटेको विषय विवादमा परेको थियो ।

खनाललाई नेकपाका अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो । तर खनालले पछिल्लो समय गृहमन्त्री थापाका भाईलाई विना कारण प्रक्राउ गर्नेदेखि चितवनको एसपी सरुवा गर्दा समेत गृहमन्त्री र नेकपाका अध्यक्ष प्रचण्डलाई बेवास्ता गरेको स्रोतको दाबी छ ।