सरकार दुई तिहाईको रहेन: प्रधानमन्त्री ओलीले तत्काल विश्वासको मत लिनुपर्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सरकार दुई तिहाईको रहेन: प्रधानमन्त्री ओलीले तत्काल विश्वासको मत लिनुपर्ने



काठमाडौं- हालको सरकारमा सहभागी रहेको समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ ।

सरकारमा सामेल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ।

समाजवादी पार्टीले सरकार छोडेको एक महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ। अहिले सरकारमा नेकपाको बहुमत छ।

नेपालको संविधान धारा १०० अनुसार सरकारमा रहेको दल बाहिरिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ’ धारा १०० को (२) मा भनिएको छ।

समाजवादी पार्टीबाट उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादव र सहरी विकासमन्त्री महोमद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान शंसाेधनसहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन्।

यसअघि यादवले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा सविधान शंसोधन प्रस्ताव पेश गरेका थिए। मन्त्रिपरिषद्मा लगिएको संविधान संशोधन प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादीले मंगलबार सत्ताबाट बाहिरिएको हो।