सरकार छाडेपछि बाबुरामले किन भने आज रिहर्सल, भोलि ड्रामा ?
काठमाडौं- समाजवादी पार्टी नेपाल एकाएक सरकारबाट बाहिरिएको छ।
सरकारमा सहभागी समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनमा दिएका हुन् ।
समाजवादी पार्टीको पदाधिकारी मंगलबार नै बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव लगेपछि प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरिदिएका थिए ।
यादवले यस्तो प्रस्तावले गरेपछि प्रधानमन्त्री ओली र उनीबीच बैठकमा चर्काचर्की भएको थियो। यसपछि यादवले राजीनामा दिएका हुन्।
यादवले पहिचानमा आधारित संघीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशिता, संघ, प्रदेश र स्थानीय तहको क्षेत्रअधिकारलगायतका विषयमा संविधान संसोधनका लागि अध्ययन गर्न ५ सदस्यीय विज्ञ समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
आज रिहर्सल, भोलि ड्रामा : बाबुराम
यसैबीच समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले पार्टी आज (मंगलबार)को पार्टी निर्णयलाई रिहर्सल मात्रै भनेका छन् भने भोलि (बुधबार) ड्रामा देखाउने बताएका छन्।
पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
ड्रामा भनेर केलाई संकेत गर्न खोजिएको भन्ने विषयमा भने थप खुलाएनन्।
बुधबार २ बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने उनले बताए।
सरकारबाट बाहिरिएपछि समाजवादी पार्टीको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक चलिरहेको छ।