सर्वोच्चको न्यायाधीशमा केसी र भण्डारी अनुमोदित
काठमाडौँ, माघ १८ गते ।
संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ । सुनुवाई समितिले न्याय परिषद्को सिफारिस अनुसार प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम सुनुवाईपछि सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिको अनुमोदनपछि अब उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । नियुक्त भएसँगै पद तथा गोपनीयताको शपथग्रहणपछि उहाँहरूले कार्यभार सम्हाल्नुहुनेछ । अब सर्वोच्चमा रिक्त न्यायाधीश सङ्ख्या एक रहेको छ । संसदीय सुनुवाईका क्रममा दुवै प्रस्तावित न्यायाधीशले अदालतको स्वतन्त्रता र न्यायिक विश्वसनीयता कायम गर्र्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अदालतमा अनियमितता भए पनि त्यसलाई न्यूनीकरण गर्न आफूहरूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश केसीले न्यायिक स्वतन्त्रतामा विश्वास राखी कार्यसम्पादन गर्ने बताउनुभयो । उहाँले न्यायमा सबैको समान पहुँचका लागि आफूले प्रयास गर्ने बताउनुभयो । यस्तै न्यायाधीश भण्डारीले न्यायिक स्वतन्त्रतामा सम्झौता नगर्ने बताउनुभयो । उहाँले न्यायमा पहुँचका लागि प्रयास गर्ने बताउनुभयो । तथ्य र प्रमाणका आधारमा न्याय सम्पादन हुने भन्दै उहाँले दबाब र प्रभावबाट न्याय सम्पादन नहुने बताउनुभयो ।
प्रस्तावित दुई न्यायाधीशविरुद्ध तीनवटा उजुरी परेका थिए । एक सैद्धान्तिक उजुरी थियो भने दुवै न्यायाधीशविरुद्ध एक÷एक उजुरी परेका थिए । केसीविरुद्ध नवलपरासी जिल्ला अदालतमा रहँदा वन कार्यालयको क्षेत्राधिकारको मुद्दा जिल्ला अदालतबाट आदेश गरी प्रतिवादीलाई सफाइ दिएको आरोप थियो ।
यस्तै न्यायाधीश भण्डारीले सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविरुद्ध मुद्दा फैसला गरेको आरोप लागेको थियो । समितिले गत शुक्रबार उजुरीकर्तासँग पनि छलफल गरेको थियो । सो छलफलपछि समितिले सोमबार न्यायाधीशको सुनुवाई गरेको हो । न्याय परिषद्को पुस १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश केसी र उच्च अदालत पोखराका मुख्य न्यायाधीश भण्डारीको नाम सिफारिस गरेको थियो ।
गोरखापत्रबाट