भीम रावलको प्रश्न: सूर्य थापा पार्टीका अध्यक्ष हुन् र ?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध शुरु भएको छ ।
आइतवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले गरेको आरोप लगाउँदै फेसबुकमा रावललाई प्रश्नसमेत गरेका छन् ।
परिभाषित जिम्मेवारी र कार्यक्षेत्रको प्रश्न शीर्षकमा थापाले लेखेका छन्, ’यहाँ यो एउटा दृष्टान्त मात्र प्रस्तुत गरिएको हो । पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ । कमरेड भीम रावल सुदूर पश्चिम प्रदेश समन्वय कमिटी ईन्चार्ज रहनुभएको छ । अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’
आफ्नो जिम्मेवारीको हेक्का राख्नुपर्ने उल्लेख गर्दै थापाले अरुले यस्तो गर्दा के हुन्छ भनी प्रश्नसमेत गरेका छन् । उक्त पोस्टमा भनिएको छ, ‘कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरू हरेकले आआफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ कि ? जबकि सुदूर पश्चिम प्रदेशमा अरूले यस्तै गर्दा कमरेडलाई कति सैह्य हुन्छ ? यो तरिका त उचित हुँदै भएन ।’
यस्तो प्रवृत्तिले जो पनि प्रवक्ता बन्ने भनाई थापाको रहेको छ । उनले थप लेखेका छन्, ‘कार्य्विभाजनबाट निर्धा्रित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ ।’
रावललाई आफ्नो जिम्मेवारी सम्झाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले क्यामरासामू उछिनपाछिन देख्दा ताज्जुब लाग्नेसमेत बताएका छन् । ’पार्टी प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र मलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरेको कार्य्विभाजन अन्तर पार्टी निर्देशन– २ मार्फत पार्टीव्यापी जानकारी गराइसकेको स्पष्ट छ ।
स्थायी कमिटीको बैठकका विगत ७ दिनहरूमा धेरै कमरेडहरू आफै प्रवक्ताजस्तो गरी टेलिभिजन क्यामेरासामु प्रस्तुत हुन यसरी किन उछिनपाछिन गर्नुभएको होला ? ताज्जुब लाग्छ !’
आइतवार स्थायी कमिटीको बैठक सकिनसाथ बाहिर निस्केका नेता रावललाई पत्रकारले घेरेका थिए। त्यसपछि रावलले बैठकको विस्तृत जानकारी दिएका थिए । सोही घटनालाई लिएर थापाले जिम्मेवारी सम्झाएको बताइएको छ ।
थापाको यस्तो सुझाव आएपछि अहिले नेता रावलले पनि जवाफ फर्काएका छन् । उनले गोविन्द दुवाल नामको एकाउन्टबाट, ‘सूर्य थापाजीको ट्वीटबारे भीम रावल के भन्नु हुन्छ ?’ भन्दै राखिएको एउटा पर्चा रिट्विट् गरेका छन् ।
‘इन्डो–पेसिफिक एम्सीसी’ शीर्षकमा लेखक भीम रावल रहेको उक्त पर्चामा भनिएको छ, ‘अछाममा एउटा प्रसिद्ध उखान छ, ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि’ भन्ने प्रसिद्ध उखान छ । अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने । सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ । आफु प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ । मलाई जिम्मेवारीको उपदेश दिने घृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन !’
प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि पार्टी अध्यक्षकै हैसियत प्राप्त भएको भ्रम परेको दाबीसमेत रावलले गरेका छन् ।
उक्त ट्विटमा भनिएको छ, ‘बालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भएझैं गरी आदेश निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे ! पार्टी विधानले पार्टीका निर्णित विषयहरुबारे प्रवक्ता वा प्रचार विभागका प्रमुख वा उपप्रमुखले मात्र बोल्न पाउने भनी कतै लेखेको छ कि ? पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो कि ?’