नेपाल ट्रस्टको जग्गा प्रकरण: यति समूहमाथि छानबिन गरिने - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

नेपाल ट्रस्टको जग्गा प्रकरण: यति समूहमाथि छानबिन गरिने



काठमाडौँ – नेपाल ट्रस्टको जग्गा प्रकरणमा यति समूहमाथि छानबिन हुने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी बिना ‘यती परिवार’ तथा त्यससँग जोडिएका नाफामुखी संस्थाहरुलाई लिजमा दिएको विषयमा छानबिन गर्ने भएको छ।

नेपाल ट्रस्टको गोकर्णको झण्डै २८०० रोपनी जग्गा लिज सकिनु पूर्व नै पुनः अर्को २५ वर्षका लागि दिइएको छ ।

यस्तै दरबारमार्ग स्थित जग्गा पनि साँठगाँठमा सरकारकै संलग्नतामा प्रक्रिया पूरा नगरी भाडामा दिइएको सार्वजनिक भएपछि लेखा समितिले चासो देखाएको हो ।

लेखा समितिको सोमबार बसेको बैठकले नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको भनिएको अनियमितताबारे छानबिनका लागि सबै कागजात माग गरेको छ।

नेपाल ट्रस्टसँग मागिएका कागजात आएपछि त्यसको अध्ययन गरेर अघि बढ्ने समितिका सभापति भरतकुमार शाहले बताएका छन् । यस सम्बन्धमा समितिको गम्भीर चासो रहेको उनले बताए ।

बैठकपछि समितिका सभापति शाहले देश सञ्चारसँग भनेका छन्, ‘हामीले कागजात मगाएका छौँ । आएपछि अध्ययन गर्छौँ । त्यसपछि मात्रै अगाडि बढ्छौँ । यो विषयलाई समितिले गम्भीरता पूर्वक लिएको छ ।’