धरै चिसो बढेपछि विद्यालयहरू बन्द - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

धरै चिसो बढेपछि विद्यालयहरू बन्द



महोत्तरी — दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् ।

बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले आउने सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए । त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ ।

विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा (दाउरा) वितरण पनि थालेको छ । प्रथम चरणमा अत्यन्त गरिब मुसहर समुदायको बसोबास रहेका बस्ती र मानिसको बढी चहलपहल हुने सार्वजनिकस्थलमा मुडा बालेर धुनी लगाइएको औरहीका नगरप्रमुख सुनिलकुमार यादवले बताए ।

जिल्लाका १५ वटै स्थानीयतहले चिसोबाट धेरै प्रभावितको पहिचान गरी तत्कालीन राहत पु-याउने तयारी गरिरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।

जिल्लाका अन्य क्षेत्रमा पनि धमाधम मुडा (दाउरा) सल्काएर धुनी लगाइँदैछन् । जिल्लाको लोहारपट्टि नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका बस्तीमा मुडा पु-याएर धुनी सल्काइएको नगरप्रमुख शैलेन्द्र यादवले जानकारी दिए । विद्यालय बन्द गर्नेबारे भोलि शनिबार बिदा नै हुँदा मौसमको अवस्था हेरेर निर्णय गर्ने लोहारपट्टि नपाको तयारी छ ।

एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मङ्गलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन् । अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ ।

तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल घटेको छ । एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशु बस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ ।

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्न पर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

अहिले जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् ।

यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् ।