भारतसँग सरकार निरिह: तत्काल वार्ता नहुने, भारतले कुरै सुनेन
काठमाडौं- कालापानी लगायतका सीमा समस्याका विषयमा भारतसँग गर्ने भनिएको छलफल हाल नहुने भएको छ।
नेपाल सरकारले सीमा समस्या समाधानका लागि भारतसँग तत्काल वार्ताको पहल गरेपनि भारतीय पक्ष यसमा हदैसम्म अनुदार देखिएको र यो विषयमा कुरा नै गर्न नचाहेको स्रोतले बताएको छ । कालापानीलगायत सीमा समस्याका बारेमा राजनीतिक तहमै वार्ताको पहल गरेपनि भारतीय पक्ष एकदमै गैरजिम्मेवार रूपमा प्रस्तुत भैरहेको स्रोतको दाबी छ ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारको विशेष दूतका रुपमा भारत पठाउने तयारी गरेर परराष्ट्रमार्फत तयारी गरेको तर भारतीय पक्षले गम्भीरता नदेखाएको बुझिएको छ ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटी सीमाबारे कुराकानी गर्ने पहल सरकारले गर्न खोजेको हो तर, उताबाट यो विषयमा कुरै गर्न खोजिएको छैन’ । परराष्ट्र मन्त्रालयका एक कर्मचारीले नाम नराख्ने सर्तमा भने ।
परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक छलफल गर्ने प्रयास भएपनि भारतमा विदेश सचिव सेवानिवृत्त हुने भएकाले यो विषयमा प्रवेश गर्न नचाहेको बुझिएको छ । भारतीय विदेश सचिव विजय गोक्खे उमेर हदले सन् २०२० को २४ जनवरीमा सेवानिवृत्त हुँदैछन् । विदेश सचिव परिवर्तन हुने भएकाले अबको दुई महिना सीमाबारे कुटनीतिक तहमा पनि छलफल हुने अवस्था नरहेको बुझिएको छ ।
प्रधानमन्त्री आफै अस्वस्थ भएकैले पनि प्रधानमन्त्री तहमा यसबारे छलफल हुने तत्काल सम्भावना छैन । त्यसकारण पनि कालापानीलगायत सीमा समस्याको विषयमा दुवै पक्षबीच राजनीतिक र कुटनीतिक तहमा गम्भीर वार्ता हुने अवस्था टरेको हो ।
सरकारले कुटनीतिक तहबाट सीमा समस्याको हल खोजिने बताएपनि अहिलेसम्म कुनै औपचारिक पहल हुनसकेक छैन। नेकपाकी एक नेत्रीले भनिन, पहल हुन खोजेको हो तर, अहिलेसम्म औपचारिक रूपमा केहि प्रगती छैन । खासमा भारतले नेपालको यो मुद्दाक बिषयमा कुरै गर्न खोजेको छैन ।