कर्मचारीकै कारण सङ्घीयता मासिन सक्ने प्रचण्डको खुलासा
धनगढी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीका कारण सङ्घीयता गुम्ने खतरा बढेको खुलासा गरेका छन् । जनताको अधिकार पनि कर्मचारीकै धरापमा रहेको उनले बताए ।
सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनको उद्घाटनमा पुगेका प्रचण्डले देशमा नयाँ शैली र सिस्टम बस्ने बेलामा पनि कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएकोले दुर्घटना हुने खतरा बढेको बताए ।
सङ्घीयताले घर–घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्नेगरेको र यो प्रवृत्तिले देशको र सङ्घीयताको भलो नहुने उनको दाबी छ।
कर्मचारीको पुरातन सोंचकै कारण जनताले सुख नपाएको पनि उनको आरोप छ ।
अहिलेको परिस्थितिमा सरकारले निकै कम गर्न खोजेपनि कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेका उनले बताए ।