डिएसपी ढुङ्गेल विरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं- आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका नेपाल प्रहरीका डिएसपी कुमोद ढुङ्गेललाई पक्राउ गर्न पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार ढुङ्गेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ ।
उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको थियो । साँठगाँठको घटना बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुङ्गेलमाथि छानबिन थालेको थियो ।
गृह सचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन भएको थियो ।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुङ्गेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।
यसअघि पनि ढुङ्गेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग सम्पर्कमा रहने गरेको आरोप लाग्दै आएको छ ।
डिएसपी ढुङ्गेलले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानहरुले देखाएको छ ।