२८औं अपाङ्गता दिवस: अपाङ्गमैत्री भवन निर्माणमा जोड
विशाल पाण्डेय/ सुखड,कैलाली ।
विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार नेपालमा अपाङ्ग दिवस मनाइएको छ । सोही अवसरमा कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा पनि एक कार्यक्रमको आयोजना गरि अपांगता दिवस मनाइएको हो ।
घोडाघोडी नगरपालिका कार्यालयको सहयोग र घोडाघोडी अपाङ्गता सेवा समाजको आयोजनामा “दिगो विकासको लक्ष्य, अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ २८ औं अपाङता दिवस मनाइएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले नगरपालिकाले अपाङ्गता मैत्री भवन निमार्ण गर्नु पर्ने जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चितताको लागी सबै पक्ष मिलेर सहयोग गर्न सहभागीहरुले आग्रह समेत गरेका छन् । कार्यक्रममा अपांगहरुको तर्फबाट बोल्दै शारदा भण्डाराले आफुले केही गर्न सकिँदैन भनेर हरेश खाएर मात्र नहुने बताएकी छिन् । उनले आफ्नो हक पाउनको लागि सबै मिलि लाग्नेपर्ने बताउदै नगरमा अपाङ्ग मैत्री भवन निमार्णमा जोड दिनुपर्ने बताइन् ।
अर्का सहभागी उत्तम पुन मगरले सरकारले अपांगता व्यक्तिहरुको लागि नियम कानुन बनाएपनी लागू नभई कागजमै सिमित रहेको बताए । सरकारले अपांग मैत्री भवनहरु बनाउने भनेर घोषणा गरेपनि त्यो नपाइएको मगरले बताए । उनले भने, अपांग मैत्री भवनहरु नहुदा बैंकमा सुरक्षा भत्ता लिन माथी जान समेत समस्या भएको छ ।”
घोडाघोडी अपाङ्गता सेवा समाजका अध्यक्ष रामराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकी थिईन । कार्यक्रममा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाही ,२ का अध्यक्ष हरिराज बिष्ट , ६ का अध्यक्ष विनोद विश्वकर्मा , इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख हरिश शरण भट्ट लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अपाङ्गता भएर पनि बिभिन्न क्षेत्रमा काम गरी रहेका ५ जना व्यक्तिहरुलाई प्रमुख अतिथि र बिशिष्ट अतिथि बाट दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले घोडाघोडी नगरपालिकाले अपाङ्गता मैत्री भवन निमार्ण गर्न आफुहरु प्रतिबद्ध भएकोे बताइन् । भवन निमार्ण आचारसंहिता अनुसार नगरपालिकाले काम गरी रहेको हुदा अपाङ्गता भएका व्यक्तिहरुलाई अब सेवा लिन सहज हुने थापाले बताइन् । उनले अपांगता परिचय पत्र वितरण गरिरहेको समेत जानकारी दिइन् । घोडाघोडी अपाङ्गता सेवा समाजका कोषाध्यक्ष टिकाराम तिवारीको स्वागत मन्तव्य सगैँ सुरु भएको कार्यक्रमको संचालन सेवा समाजका सचिब शुष्मा भण्डाराले गरेकी थिईन ।