छाउपडी प्रथा कानुनी रूपमै अपराध
काठमाडौँ, माघ १३ गते । नेपालमा पहिलोपटक छाउपडी प्रथा कानुनी रूपमा अपराधभित्र परिभाषित भएको छ । छाउपडी, रक्तश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र जरिवानासमेत प्रस्तावित छ ।
मुलुकी ऐन प्रतिस्थापनका लागि संसद्को विधायन समितिमा विचाराधीन फौजदारी संहितामा विधायन समिति मातहतको उपसमितिले छाउपडीलाई कसुर घोषित गरेको हो । कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
अन्धविश्वासका कारण सुदूरपश्चिम लगायतका क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायम छ । राज्यले जनचेतनासँगै कानुनी व्यवस्था पनि बलियो पार्दै लैजानुपर्ने उद्देश्यले प्रथालाई अपराधमा परिभाषित गरेको फौजदारी संहिता उपसमिति संयोजक कृष्णभक्त पोखरेलले बताउनुभयो ।
पोखरेलले भन्नुभयो, “अझै पनि छाउपडी प्रथा कायमै छ । यसलाई जनचेतनासँगै कानुनी दृष्टिमा पनि समेटिनुपर्ने भएकाले हामीले पहिलोपटक यसलाई अपराधका रूपमा परिभाषित गरेका हौँ । न्यूनतम सजाय नै प्रस्तावित छ । ’’ फौजदारी कानुनमा पहिलोपटक छाउपडीलाई कसुर घोषित गरिएको हो ।
यस्तै उपसमितिले राज्यको प्रतिनिधिका रूपमा सम्मिलित खेल मिलेमतो गरेमा अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुने गरी कानुन प्रस्ताव गरिएको छ । खेल मिलेमतो पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मान्ने गरी कानुनी व्यवस्था हुन लागेको हो ।
स्पष्ट कानुनी आधारबिना पछिल्लोपटक फुटबलका चार खेलाडीलाई राज्यविप्लव मुद्दा दायर गरिएको थियो । खेल मिलेमतोमा तीन वर्षसम्म कैद प्रस्तावित छ । उपसमितिले मूल विधेयकका आजीवन कारावास, बलात्कार, जन्मकैद लगायतका धेरै व्यवस्था परिमार्जनसमेत गरेको छ ।
बलात्कारमा २० वर्षसम्म कैद
अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ । यस्तै नाबालिका बलात्कारमा २० वर्षसम्म सजाय हुन सक्नेछ । नाबालिकाको बलात्कारमा कम्तीमा १६ वर्ष कैद हुनेछ । उपसमितिले सरकारले प्रस्ताव गरेको भन्दा बलात्कारमा सजाय दोब्बर
बनाएको हो ।
वैवाहिक बलात्कारको हकमा भने सरकारको प्रस्ताव नै उपसमितिले पारित गरेको छ । मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा १० देखि १५ वर्ष कैदको सरकारको प्रस्तावलाई उपसमितिले कम्तीमा १६ वर्षदेखि २० वर्ष बनाएको हो ।
विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउनसक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ । पीडितलाई अन्तरकालीन क्षतिपूर्तिको व्यवस्था नयाँ प्रस्ताव हो । आजीवन कैदको दायरा बढ्यो
मूल विधेयकले प्रस्ताव गरेकोभन्दा उपसमितिले आजीवन कैद हुने घटना बढाएको छ । यसअघि छवटा घटनामा आजीवन कैद हुनेमा अब सार्वजनिक सवारीमा हुने विस्फोटका घटनालाई पनि आजीवन कैद हुनेमा थप गरिएको छ ।
यस्तै जन्मकैदको सजायलाई पनि २५ वर्ष बनाइएको छ । सरकारले मूल विधेयकमा जन्मकैदलाई ३० वर्ष बनाउने प्रस्ताव गरेको थियो । उपसमितिले सरकारले प्रस्ताव गरेको भन्दा पाँच वर्ष कम गरेर सजाय निर्धारण हुने गरी सहमति गरेको छ । अहिले जन्मकैदमा २० वर्ष सजाय हुन्छ ।
संहिताले बहुविवाहलाई कानुनी कसुरमा निरन्तरता दिँदै अंश लिएर बसेको अवस्थामा बाहेक अरू अवस्थाको बहुविवाह अस्वीकार गरेको छ । यसअघि निको नहुने यौनरोग लागेमा श्रीमतीका कारणबाट वा श्रीमान्का कारणबाट बच्चा नहुने मान्यताप्राप्त चिकित्सकको प्रतिवेदन भएमा अर्को विवाहका लागि सहमतिमा छुट दिएको थियो । अब अंश लिएर छुट्टिएको अवस्थामा बाहेक अरू अवस्थामा बहुविवाह गर्न पाइनेछैन ।
गोरखापत्र