मोरङमा कांग्रेस विजयी
मोरङ – आइतबार बिहान आएको उपनिर्वाचनको नतिजा अनुसार मोरङको धनपालथान गाँउपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका नारायणप्रसाद साहले १ हजार ७०१ मतसहित जित हात पारेका हुन् ।
शनिबार सम्पन्न उपनिर्वाचनमा समाजवादी पार्टीको समर्थनमा रहेको कांग्रेसले जितेको हो। साहका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत प्राप्त गरेका थिए। त्यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका ज्योति पासवानले २४ मत पाए ।
कुल ४ हजार ७४ मत रहेको वडामा ८० दशमलव ६० प्रतिशतसहित ३ हजार २ सय ८४ मत खसेको थियो। यस क्रममा ३८ मत बदर भएको छ। यसअघि तत्कालीन एमालेका बलराम भगतको सर्पले डसेर मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो।