तरुणदल सिध्याउने नेताकै 'मिशन' - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

तरुणदल सिध्याउने नेताकै ‘मिशन’



-किङ खनाल

काठमाडौँ- नेपाली काँग्रेस जति लथालिङ्ग छ त्यति नै लथालिङ्ग छन् भ्रातृ सङ्गठनहरू । पार्टीका नेता जति गैर जिम्मेवार छन् त्यो भन्दा बढी गैर जिम्मेवार छन् भ्रातृ सङ्गठनका नेताहरू । सबैभन्दा भद्रगोल र बिजोगको कसैलाई उदाहरण दिनु छ भने त्यो काँग्रेस र उसका भातृ सङ्गठनको दिए हुन्छ ।

यस्तै एउटा सङ्गठन हो नेपाल तरुण दल, यो सङ्गठन अभागी मध्यको एक हो, किनकि यसले तरुण नेतृत्व विरलै मात्र पाउँछ, त्यो माथि वैधानिक र बिना हस्तक्षेप कहिलै पनि नेतृत्व चयन हुँदैन । यो पार्टी नेतृत्वको बपौती जस्तै हो, यसमा पार्टीका नेताहरूले सधैँ अंशबण्डा गर्छन्, बिला लगाउँछन् र बाजेको सम्पत्ति जस्तै चिरा चिरा पारेर लुच्छन, तर कहिल्यै यसलाई बनाउनतर्फ उनीहरूको ध्यान नै जाँदैन । ध्यान हुन्छ त केवल लुछ्न, तोड्न र अंशबण्डा गर्न ।

अहिले पनि तरुण दल पार्टी नेता र सङ्गठनका नेताहरूको सिकार बनेको छ । पार्टीको युवा तथा तरुणहरूलाई एकताबद्द गरेर सृजनात्मक काममा लगाउने, पार्टीलाई सही दिशामा लैजानेगरी खबरदारी गर्न सक्ने यो सङ्गठनको मङ्सिर १ गतेदेखि वैधानिकता सकिएको छ । सबैभन्दा हाँस्यास्पद त के छ भने ३ वर्षको कार्यकाल रहेको अहिलेको नेतृत्वले सङ्गठनलाई पूर्णता नै दिन सकेन । यो अवधिमा नेतृत्वले १ पटक पनि केन्द्रीय कार्यसमितिको बैठक बसाल्न सकेको छैन ।

तरुण दलको विधान अनुसार ९५ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ। तर, ३ वर्षसम्म चार जनामै सीमित भएर कीर्तिमान कायम गर्नेगरी जितजंग बस्नेतको नेतृत्व सकिएको छ।

ठुला ठुला कार्यक्रममा पुगेर भाषण ठोकेर, मिडियाबाजी गर्नसक्ने नेताहरूको कार्यक्षमता भने उदाङ्गो बनाएको छ तरुण दलको यो अवस्थाले ।

आफूले काम गर्न खोज्दा पनि संगठनकै साथीहरूको साथ् नपाएको गुनासो अध्यक्ष जितजंग बस्नेतले गर्ने गरेका छन् । उनले महासचिव भुपेन्द्रजंग शाहीलाई यसको सबैभन्दा ठुलो दोषी बताउँछन ।

पार्टीकै केही नेता र केही नेताकै स्वार्थका कारण पछिल्लो समय सङ्गठन कमजोर बन्नुपरेको जिल्लास्तरका तरुण कार्यकर्ताहरूको गुनासो छ । तरुण दलले अघि सारेका केही लोकप्रिय कार्यक्रमहरू पनि पार्टी र दलकै नेतृत्वको टसलले पूर्ण हुन सकेनन् ।

केही जिल्लाका नेतृत्व छान्ने सवालमा पनि अध्यक्ष र महासचिवबिचको द्वन्दले संगठनले काम गर्न नसकेको कार्यकर्ताहरूको गुनासो छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले भने मूल पार्टी नेतृत्व र सङ्गठनको अध्यक्ष बस्नेत नै तरुण दललाई सकाउने अभियानमा लागेको बताउने गरेका छन् । शाहीले केही जनप्रिय काम गर्न खोजेपनि अध्यक्षले असहयोग गरेको उनको आरोप उनको छ ।

उद्यमशील र सृजनशील युवा, भ्रष्टचारविरोधी अभियान, एक घर एक तरुण सदस्यजस्ता कार्यक्रम आफूले ल्याएको तर अध्यक्षले सहयोग नगरेका कारण कार्यान्वयन हुन नसकेको पनि शाहीको आरोप छ।

२०७३ कार्तिक २७ देखि २९ सम्म भएको चौथो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो। पार्टीकै नेताहरूको कारणले महाधिवेशन समेत लम्बिएको थियो भने पार्टीका ३ गुटबाट नेतृत्व छान्ने भागबण्डा लादिएको थियो । जसमा अध्यक्ष जितजंग बस्नेत शेरबहादुर देउवा प्यानल, उपाध्यक्ष उत्तम चापागाईँ सिटौला प्यानल, महासचिव भूपेन्द्रजंग शाही रामचन्द्र पौडेल र विद्वान गुरुङ बालकृष्ण खाँणबाट पर्न सफल भएका थिए ।

हाल पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वको पालामा सबैभन्दा सफल देखिएको तरुण दल अहिले भने सबै भन्दा निकम्मा साबित भएको छ । यसरी पार्टीका नेता हाबी हुँदा वा अनैतिक तरिकाले भागबण्डा गर्दा पार्टीप्रतिनै जनताको अविश्वास घट्दै गएको अनुमान गर्न सकिन्छ ।