देउवाको आरोप: नाकाबन्दीका राष्ट्रवादी, सीमा मिचिँदा लम्पसारवादी भए - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

देउवाको आरोप: नाकाबन्दीका राष्ट्रवादी, सीमा मिचिँदा लम्पसारवादी भए



कञ्चनपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वास्ता नै नगरेको आरोप लगाएका छन् । कञ्चनपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्।

सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन कम्युनिष्ट सरकारले मतलब नगरेको पनि देउवाले बताएका छन् । देउवाले ओलीले नाकाबन्दीमा चर्को राष्ट्रवाद देखाएको तर सिमा बिबादमा भने लम्पसार परेको समेत बताएका छन् ।

उनले भने, ‘सीमा विवादमा कम्युनिष्ट सरकारले मतलबै गर्दैन। नाकाबन्दी ताका राष्ट्रवादको नारा दिने, सिमा बिबादमा भने कुटनीतिक तवरबाट विवाद हल गर्ने काम नगर्ने?,’ देउवाले प्रश्न गरे, ‘सरकारले गर्ने पहलमा हाम्रो समर्थन रहन्छ भनेकै हो। राष्ट्रवादको नारा दिने अनि लम्पसारवाद हुने? विवाद समाधान गर्ने काम त गर्नुपर्‍यो नि।’

सभापति देउवाले आफू प्रधानमन्त्री भएका बेला सीमा विवाद मिलाउन पहल गरेको दाबी गरे।

‘मैले प्रधानमन्त्री हुँदा कुटनीतिक पहल गरेको थिएँ। आज पनि भन्दैछु, कुटनीतिक पहल गर्नुपर्छ,’ उनले भने। देउवाका अनुसार नेपाल-भारत सीमा महाकाली नदी हो भनेर सन्धीमै लेखिएको छ। ‘महाकालीको पानी पनि आधा हक लाग्छ भन्ने सिद्धान्त तहमै पास भएको हो,’ देउवाले भने।

देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताए। उनले भने, ‘कालापानी हाम्रो हो। महाकाली सन्धीअनुसार पनि कालापानी नेपालकै हो,’ उनले भने।