विद्यार्थीको पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम, ठगी मुद्दा लगाइने - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विद्यार्थीको पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम, ठगी मुद्दा लगाइने



काठमाडौं- सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे ठगीको मुद्दा चलाउने चेतावनीे दिए ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले नमिलाएमा विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जाने प्रष्ट गरे ।

१५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी गरेको छ ।

तालाचाबी बुझाइदिने धम्की दिँदैमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने भन्दै मन्त्री पोखरेलले कानून सबैका लागि लागू हुने प्रष्ट गरे ।

विद्यार्थीका माग सम्बोधन गरेपछि भने शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि उनले बताए । अभिभावक र विद्यार्थीलाई गुपचुप रुपमा असमान शर्तहरु नस्वीकार्न उनको आग्रह छ ।

डा. केसीलाई अनशन तोड्न आग्रह

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको जिकिर गर्दै मन्त्री पोखरेलले डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. केसीले अनशनको बाटो लिनु उचित नभएको उनको भनाइ थियो ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी सरकारलाई सम्झौता कार्यान्वयन गराउन दबाब दिन भन्दै ६ दिनदेखि डडेल्धुरामा अनशनरत छन् ।

डा. केसीलाई ल्याउन सरकारले सेनाको हेलिकोप्टरसमेत पठाएको छ । तर डा. केसीले मानेका छैनन् ।