एक इन्च पनि जमिन छाडिन्न: प्रचण्ड - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

एक इन्च पनि जमिन छाडिन्न: प्रचण्ड



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट सिमा विवादबारे तत्काल अन्तराष्ट्रिय स्तरमा जान नहुने बताएका छन् ।

राज्यव्यवस्था समितिको सदस्यका रुपमा आजको बैठकमा उपस्थित हुँदै उनले मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण तत्काल गर्न नहुने बताएका हुन्।

समिति बैठकमा प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला।’ समितिले भारतले नेपालको सीमा मिचेको बारेमा छलफल राखेको हो।

समिति बैठकमा बोल्दै उनले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने बताए। उनले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको बताए। उनले भने, ‘महाकाली नदीको मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल हो भने पश्चिम भारत हो।’

प्रचण्डले भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय आएको बताए। ‘विगतमा स्थिर प्रकृतिको सरकार नहुँदा यस्ता समस्या देखिएको हो’, उनले भने, ‘नेपालको एक इन्च पनि जमिन छोड्दैनौँ र अर्काको भूमि पनि लिँदैनौँ।’

यो विषय गम्भीर नभए पनि विगतमा दह्रो कुरा राख्न नसकेको कारण समस्या देखिएको उनको भनाइ छ।

बैठकमा सदस्यहरु बोल्ने क्रम जारी छ ।