जनार्दन शर्मा र पम्फा भुसाल 'इन' वर्षमान 'चेन्ज' - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

जनार्दन शर्मा र पम्फा भुसाल ‘इन’ वर्षमान ‘चेन्ज’



काठमाडौं- प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन्।

मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि कि पछि भन्ने मात्र टुंगो लागेको छैन।

ओली वर्तमान मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गरेर चुस्त, दुरुस्त ढंगले जनअपेक्षाअनुसार अगाडि बढ्ने निचोडमा पुगेको वालुवाटार स्रोतले जनाएको छ।

यसका निम्ति ओलीले वर्तमान सरकारका सबै मन्त्रीलाई हटाएर टिम नै नयाँ ल्याउने योजनासमेत बनाएका छन्।

कामको आधारमा मूल्यांकन गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुन तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पुनर्गठित मन्त्रिपरिषदमा पनि स्थान पाउने देखिएको छ।

प्रचण्डको आग्रहमा खानेपानीमन्त्री बिना मगरले निरन्तरता पाउने र अर्थमन्त्री युवराज खतिवडाले पनि आफूलाई नहटाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको खबर आज सोमबार प्रकाशित भएको साँघु साप्ताहिकले छापेको छ।

अब हुने मन्त्रिपरिषद्को पुनर्गठनमा सुरेन्द्र पाण्डे, कृष्ण राई, लीलानाथ श्रेष्ठ, पम्फा भुसाल र जनार्दन शर्माले स्थान पाउने सम्भावना बलियो छ।

अग्नि सापकोटाले सभामुख बन्ने स्थिति नभएमा उनी पनि मन्त्री बन्नेछन्।

ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय फेरिन सक्ने सम्भावना रहेको छ भने गृह मन्त्रालयमा पनि नयाँ अनुहार आउने स्थिति देखिएको छ।

दुई वर्षे कार्यकाल सन्तोषजनक ढंगले अघि वढाउन नसकेका नेकपाबाट निर्वाचित मुख्यमन्त्री पनि हटाउने सम्भावना रहेको स्रोतले जनाएको छ।