इँटाभट्टामा हालेर मारिएको भनिएका व्यक्ति जिउँदै रहेको निवेदन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

इँटाभट्टामा हालेर मारिएको भनिएका व्यक्ति जिउँदै रहेको निवेदन



काठमाडौं- १२ वर्षअघि नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले बम बिष्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर मारेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको निवेदन परेपछि आलम काण्डले अर्कै मोड लिएको छ।

आलमको मुद्दामा थुनछेक बहस भैरहेको बेला अख्तरकै पत्नीले दिएको यो निवेदनले आलम काण्डमा ट्वीस्ट ल्याउने अनुमान गरिएको छ । उनकी पत्नी अमना खातुनले अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै निवेदन दिन अदालत पुगेकी छन्।

ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध मुद्दा दायर गरेको थियो।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको स्रोतले बताएको छ।

आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षी लगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाउन सुरू गरेको स्रोतले बताएको छ।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।