घाइतेका पिडा: दूध खुवाउँदै गरेकी सरिताको छोरा काखबाटै बेपत्ता भए - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

घाइतेका पिडा: दूध खुवाउँदै गरेकी सरिताको छोरा काखबाटै बेपत्ता भए



काभ्रे। ‘चालकले पटकपटक गाडी बिग्रिएको बताएका थिए । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै थियो।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन।

आजको नेपाल समाचारपत्रमा खबर छ–धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ। ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन। म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन।

अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भनिन।सरिताका अनुसार मुढेभन्दा अगाडिदेखि नै बस बिग्रिएको थियो। बिग्रिएको बसलाई चालकले विस्तारै विस्तारै रोकेर अन्यत्र स्थानमा पनि बनाउँदै खाडीचौरसम्म ल्याइपुर्याएका थिए। खाडीचौरमा खाना र खाजा खाएपछि बस सामान्य अवस्थामा गुडिरहेको थियो।

बसभित्र म्युजिक पनि गुन्जिरहेको थियो। सबै निदाएजस्तै शान्त अवस्थामा थिए। बस खचाखच थियो। सरिताको जेठो छोरा ३ वर्षको छ। श्रीमान् एक महिनाअघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन्। घरमा आफन्तलाई जेठो छोरा छाडेर सरिता काठमाडांै जान उक्त बसमा चढेकी थिइन।

केही दिनको काठमाडौं बसाइपछि दोलखा फर्कने योजनामा उनि बिहान साढे ८ बजे बस चढ्नुभएको थियो। धुलिखेल अस्पतालमा ५० जना घाइतेको उपचार भएकोमा केहीलाई काठमाडौंका विभिन्न अस्पतालमा रिफर गरिएको अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज सानुकृष्ण श्रेष्ठले बताए।

पानीले भिजेका सबै यात्रुका लागि धुलिखेल अस्पतालले न्यानो कपडासहित उपचार गराएको छ। अधिकांश घाइतेले दुर्घटना सपनाजस्तो लागेको बताएका छन्। काटाकुटी घर भएकी ६१ वर्षीया छत्रकुमारी थापाले धेरै मान्छे ओर्लिएर बाँच्न सफल भएको बताइन। उनकी आमा छोरी दुवै घाइते भएका छन्।

शैलुङ घर भएकी सीमा कार्कीको खुट्टामा घाउ भएको छ। उत्तानो परेको गाडीबाट सहजै निस्कन सकेको उनले बताइन। मुखभरि पानी भरिएपछि दुर्घटना भएको जानकारी भएको उनले बताइन । ९ वर्षीया युनिषा खड्काको परिवार नै दोलखबाट काठमाडौं जाँदै थियो। दाइ राजिव र आमा निर्मला बेपत्ता भएको युनिषाले बताए।

युनिषा र उनको बुबा घाइते छन्। बिग्रिएको बस जबरजस्ती चलाइरहेका कारण राजमार्गको सजिलो स्थानबाट समेत बस नदीमा खस्न पुगेको यात्रुहरूले बताए। अधिकांश घाइतेको ढाड र खुट्टामा चोट लागेको छ। घाइतेहरूको उद्धार, उपचार र खोज कार्यमा स्थानीय, सुरक्षा निकाय, धुलिखेल अस्पतालको सक्रियता थियो। दोलखाबाट निर्वाचित नेताहरू अस्पतालमा घाइते भेट्न पुगेका थिए।