कैलालीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, सडक अवरुद्ध
विशाल पाण्डेय/ सुखड,कैलाली
घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बसले मोटरसाईकलाई ठक्कर दिई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार साझ पुर्व पश्चिम् राजमार्ग अन्तरगत पहलमानपुर बजारमा दुर्घटना हुँदा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका -१० का ४० बर्षिय राम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिएका छन् ।
भट्टका अनुसार, पश्चिमबाट पुर्वतर्फ गईरहेको भे १ ख १७३२ नम्बरको बसले विपरीत दिशातर्फ जान लागेको से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार सोही ठाउँका ४२ बर्षिय मान बहादुर चौधरी गम्भीर घाईते भएका थिए । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसक्दा सेती अञ्चल अस्पताल धनगढी रेफर गरिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै , घटनाको विरोधमा आफन्तहरुले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्गमा भएको शव नउठाउदा राजमार्ग अवरुद्ध भइ छोटो तथा लामो दुरिको कुनै पनि सवारी साधन नचलेपछि यात्रुहरु अलपत्रमा परेका छन् । बस चालक बाकेका ३२ वर्षिय डिल्ली बहादुर योगिलाई ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा लिएको छ ।