महराविरूद्ध अभियोगपत्र दर्ता हुँदै: साढे ७ वर्ष जेल सजायको माग - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

महराविरूद्ध अभियोगपत्र दर्ता हुँदै: साढे ७ वर्ष जेल सजायको माग



काठमाडौं ।संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर हुने भएको छ ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार आजै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने तयारी भइरहेको छ । फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेरकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ । महराविरूद्ध करणी उद्योगमा मुद्दा दर्ता गर्न लागेकाले सो सजायको आधा अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।

त्यसमा फौजदारी संहिताकै सजाय निर्धारण एेनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ठहर भएको कैद सजायमा थप डेढी अर्थात् अधिकतम ठहर गरे अर्को साढे २ वर्ष सजाय थप हुने गरी अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।

थुनामा राख्न तेस्रो पटकको म्याद थपपछि महरालाई आज थुनछेकका लागि अदालतमा पेस गरिन लागेको हो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।

महराको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले आजै थुनछेक बहस सकिने सम्भावना कम रहेको छ । सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता नगरेको अवस्थामा भने महराको आरोप स्वतः खारेज हुनेछ ।