महरा काण्ड: थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थपिने - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

महरा काण्ड: थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थपिने



काठमाडौं- संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लगेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (बिहीबार) पुनः अदालत पेस गरिँदै छ।

बलात्कार प्रयासको थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गर्न माग गर्दै प्रहरीले महरालाई जिल्ला अदालत काठमाडौं लाने तयारी गरेको हो।

२८ असोजमा अदालतले महरालाई ३ दिनको लागि म्याद थप गरेको थियो। त्यसपछि दसैँ बिदाका कारण अदालत बन्द भएकाले प्रहरीले १० दिनसम्म महरालाई अदालत उपस्थित गराएको थिएन।

पछिल्लो पटक गएको आइतबार अदालतले महरालाई थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरेको थियो।

पाँच दिनको म्याद सकिएकाले आज पुनः म्याद थप गर्न लागिएको हो।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरीले महरालाई १९ असोजमा पक्राउ गरेको थियो।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन्। महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब परेको छ।