पशुपतिमा दाहसंस्कार बन्द: कर्मचारी आन्दोलनमा - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

पशुपतिमा दाहसंस्कार बन्द: कर्मचारी आन्दोलनमा



काठमाडौं- सेवा सुविधाका विभिन्न माग राख्दै पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्।

आर्यघाटमा कालो ब्यानर टाँग्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले आफ्ना माग पूरा नहुन्जेल बुधबार बिहान ६ बजेदेखि शवदाह नगर्ने, दाउरा बोक्ने, खाडल खन्नेजस्ता काम नगर्ने जनाएका छन्।

कामदारहरूले आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन्।

घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम बन्द गर्ने चेतावनी दिएका हुन्।

तर पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले अहिले बिहान ११ बजेका लागि वार्तामा बोलाएकाले त्यस बेलासम्मका लागि आन्दोलन स्थगित गरिएको घाटका कामदार विदुर बुढाथोकीले बताए।

‘अहिले साढे ८ बजेबाट आन्दोलन ११ बजेको वार्ताका लागि स्थगित गरेका छौं,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘वार्ता सफल भएन भने त्यसपछि हामी हड्तालमा उत्रिने छौं।’

उनका अनुसार हाल एउटा शव जलाएबापत कामदारले १ हजार २ सय रुपैयाँ पाउँछन्।

‘त्यसमा पनि कोषले १० प्रतिशत रकम कटाएर १ हजार ८० रुपैयाँ पाउने गरेका छौं,’ बुढाथोकीले भने। यसलाई बढाएर २ हजार पुर्‍याउनुपर्ने आफूहरूको माग रहेको उनले बताए।

त्यसैगरी कोषले दिने उपदान रकमसमेत वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।

‘१५ वर्ष काम गर्नेहरूले अहिले २ लाख उपदान पाउने गरेका छन्। अहिलेको महँगीको अवस्थामा यतिले कसरी पुग्छ,’ बुढाथोकीले भने, ‘यसलाई वृद्धि गरेर १० लाख रुपैयाँ पुर्‍याउनुपर्छ।’

यस्तै स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग पशुपति आर्यघाटका कामदारले पशुपति क्षेत्र विकास कोषसँग गरेका छन्।