आलम काण्ड: घटना लुकाउन प्रहरी–प्रशासनलाई २०–२० लाख
काठमाडौं- ७९ वर्षीय श्रीनारायण सिंह बम विस्फोटमा मारिएका त्रिलोकप्रतापका बुवा हुन्। यमुनामाई–४ सरुअठाका उनी छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसहित १२ वर्षदेखि भौतारिँदै थिए। अन्नपूर्ण पोस्ट्को टोली मंगलबार उनको घर पुग्दा प्रहरी टोली सुरक्षामा खटिएको थियो। मधेसी आयोगका अध्यक्ष विजय दत्त उक्त घटनाका विषयमा श्रीनारायणसँग कुरा गर्दै थिए। श्रीनारायणले विस्फोटमा छोरा घाइते भएको र इँटाभट्टामा लगेर जिउँदै जलाइएको सुनाए ः–
मेरो छोरो त्रिलोकप्रताप भारतको सीतामढीमा बीए पहिलो वर्षमा पढिरहेका थिए। चुनाव प्रचारका लागि उनलाई बोलाइयो। भाषण गर्न राम्रो थियो। उनको बोलीमा दम थियो। अफताब आलमले उनलाई बोलाउन मानिस पठाए। १७ चैत २०६४ मा घर आए।
उनी १८ गतेदेखि खटिन गाउँ–गाउँ जान थाले। गहुँ काटेर भित्र्याउने सिजन थियो। म त्यसमै व्यस्त थिएँ। साँझ घर आउँदा उनकी आमाले भनिन्– ‘मन्त्रीज्यूले त्रिलोकलाई चुनावमा घुम्न लगे।’ आलमका भाइ महताब आलमले घर अगाडि गाडी रोके। उनका सहयोगी शेख भदईले त्रिलोकलाई लिएर गएका थिए। मेरो छोरोले जान इन्कार गर्यो। उसले भन्यो– ‘तपाईंको चुनावमा मान्छेहरू मर्छन्।’ उनीहरूले भने– ‘तपाईंविरुद्ध हत्या आरोप लागे पनि केही हुँदैन। मेरै पार्टीको सरकार छ। गृहमन्त्री मेरै पार्टीको छ।’ त्यसपछि त्रिलोक चुनाव प्रचारमा गयो।
२७ गते साँझ ५–६ बजेतिर राजपुर फरदवामा बम विस्फोट भयो। चुनावको बेला छ, कतै केही भयो होला। गम्भीर भएर सोचिनँ। भोलिपल्ट म रुक्सना खातुनको घर गएँ। रुवाबासी चलिरहेको थियो। शेख इद्रिसको घरमा बम विस्फोट भएको थाहा पाएँ। ‘बममा परेर मेरो छोरो (ओसी अख्तर) मर्यो तेरो छोरो पनि मर्यो।’ जब मलाई रुक्सनाले भन्नुभयो तब मेरो होसहवास उड्यो।
मतदातालाई आतंकित पार्न कोठामा बम भण्डारण थियो। त्यहीं विस्फोट भयो। घर रातारात मर्मत गरियो। दुई जना नेपाली र २० जना बम बनाउने पेसेवर भारतीय थिए। सबै घाइते भए। थोरबहुत छर्रा लागेकाहरूको उपचार गाउँमै भयो। सलाइन पानीमा जहर (विष) हालेर बेहोस बनाइयो।
त्यति खेर जिल्ला प्रहरीका एसपी लक्ष्मण न्यौपाने थिए, सशस्त्रका एसपी रामकृष्ण लामा र सीडिओ दुर्गा भण्डारी। २०–२० लाख रुपैयाँ दिएर प्रहरी– प्रशासनलाई घटना लुकाउन दिइयो। हामीलाई यो कुरा पछि थाहा भयो। प्रहरीमा उजुरी दिएँ तर दर्ता गर्न मानेन। पछि हुलाकबाट जाहेरी पठाएँ। सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गर्यो। न्यायको आसमा त्यसपछि काठमाडौं गएँ।
२०६७ माघमा रुक्सनाको हत्या भयो। त्यसपछि म एक्लै परें। तापनि म लडिरहें। सर्वोच्च अदालतले गम्भीर अनुसन्धान गर्न भन्यो। रौतहटमा १४–१५ जना एसपी आए–गए, कसैले सुनवाइ गरेनन्। उनीहरू सांसद अफताब आलमकै संरक्षणमा लागे। प्रहरीले चासो नलिएपछि म फेरि काठमाडौं गएँ। अदालतमा मानहानिको उजुरी गरें। फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठायो। एसपी भूपेन्द्र खत्रीले अफताब आलमविरुद्ध एक्सन लिए। अन्नपुर्ण समाचारको अंश