ब्यापक दबाबपछि सच्चिए देउवा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

ब्यापक दबाबपछि सच्चिए देउवा



काठमाडौँ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकाएक बोली सच्चाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा मोहम्मद आफताव आलम माथिको मुद्दाको बिषयमा बोल्दै देउवाले निर्दोष भएको बताएका थिए। उनले यो घटनालाई लिएर सरकार काङ्ग्रेस सिध्याउन लागेको आरोप समेत लगाएका थिए।

देउवाको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जालदेखि आम रुपमा व्यापक बिरोध भएको थियो । यसरी २४ घन्टामै देउवा इतिहासमै बढी आलोचित भएपछि बाध्य भएर बोली सच्चाएका छन् ।

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गरे । “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याएको छ ।