एनआरएनए चुनावः के छ आचार्य र पन्तको सुरुवाती अवस्था ? - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

एनआरएनए चुनावः के छ आचार्य र पन्तको सुरुवाती अवस्था ?



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को बिहीबार सम्पन्न निर्वाचनमा दुई हजार ३४० मत खसेको छ ।

कुल दुई हजार ५७० मतदातामध्ये करिब २३० मतदानको बेला अनुपस्थित रहे ।

प्राविधिक गडबडीका कारण भन्दै बुधबार साँझ स्थगित मतदान बिहीबार गरिएको हो ।

बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएपनि साँझ करिब ६ बजेमात्रै सकिएको थियो ।

बिहीबारै साँझ मतगणना सुरु गरिने जनाइएको छ ।

कुल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये केही पद निर्विरोध भएका छन् ।

अध्यक्ष पदमा दुईजनामात्र उम्मेदवार छन् । सबैभन्दा बढी उम्मेदवार उपाध्यक्ष पदमा छन् । कुल चार पदका लागि ९ जनाको उम्मेदवारी थियो ।

अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिकाज् क्षेत्रबाट २६१ मत खसेको जनाइएको छ ।

निर्वाचनका कारण अधिवेशनको समय लम्बिएपछि बिहीबार साँझका लागि तय गरिएको पूर्वनिर्धारित् समापन समारोह स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको थियो ।

मतदान गर्न ढिलाइ गरेपछि बुधबार राति केही प्रतिनिधि हुलदंगामै उत्रिएका थिए । तनाव साम्य पार्न प्रहरी नै परिचालन गर्नुपरेको थियो ।

संघको इतिहासमै यसपटकको सम्मेलन लज्जास्पद रहेको भन्दै धेरै प्रतिनिधिले दुःखेसो गरेका छन् । संघभित्र अति राजनीतिकरण भएको आरोप उनीहरूको छ ।