बाबुराम भट्टराई भन्छन: अब ज्ञानेन्द्र शाहले चुनाव लड्नुपर्ने - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बाबुराम भट्टराई भन्छन: अब ज्ञानेन्द्र शाहले चुनाव लड्नुपर्ने



गोरखा- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्नुपर्ने बताएका छन् ।

पार्टीको आयोजनामा बिहीवार सदरमुकाममा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताए ।

‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ,’ उनले भने, ‘राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दैन, कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन ।’ जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताए ।

‘पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उनले भने ।

दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्व राजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं,’ उनले भने ।

गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न उनले सबैलाई आग्रह समेत गरे । दलहरु बीच एकता हुनु आवश्यक रहेको उनले बताए ।