बुद्ध एयरमा तालाबन्दी गर्ने, बहिष्कार गर्ने लगायतका आन्दोलन घोषणा - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

बुद्ध एयरमा तालाबन्दी गर्ने, बहिष्कार गर्ने लगायतका आन्दोलन घोषणा



जनकपुरधाम : जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा राजपाले आन्दोलनको घोषणा गरेको छ।

राजपा नेपाल धनुषा जिल्ला अध्यक्ष मण्डलको मंगलबारको बैठकले साह पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको हो। संयोजक प्रमोद यादवले जारी गरेको निर्णयमा बुधबार बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने, बुद्ध एयर बहिष्कार गर्ने गराउने, यसबारे अन्र्तक्रिया गर्ने पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

राजपाको धनुषा जिल्लाले आज आकस्मिक बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उसले बुद्ध एयरलाई लक्षित गरी कडा कदम समेत चाल्ने निर्णय गरेको छ ।

बुद्धको काउण्टर तोडफोड गरेको आरोपमा साह काठमाडौंमा पक्राउ परेका थिए।

शाहलाई बुधबार जिल्ला अदालत धनुषामा पेस गरिने भएको छ। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए।

उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ। मुद्दामा दोषी ठहर भए सांसद साहलाई ५ वा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।