विमानस्थल तोडफोड गर्ने सांसदविरुद्ध पक्राउ पुर्जी: देशभर पत्राचार
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले बताएअनुसार अदालतले सांसद साहलाई पक्रन पूर्जी जारी गरेको छ, अब सांसद साहलाई पक्रन देशभरी पत्राचार गरिने बताइएको छ ।
सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।
आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।