दसैँको मुखमा प्रधानमन्त्री ओलीलाई दुई साताकाे अल्टिमेटम - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

दसैँको मुखमा प्रधानमन्त्री ओलीलाई दुई साताकाे अल्टिमेटम



काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न दुई साताकाे अल्टिमेटम दिएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै आफूसँग १६ औँ अनशनका क्रममा भएका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन लगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन सुरु गर्ने डा.केसीले चेतावनी दिएका छन्।

डा. केसीले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ,‘विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नु पर्छ भनेर हामीले लामो संघर्ष गरेका छौँ। त्यस क्रममा विद्यमान कानुनमा परिमार्जन गरेर नयाँ व्यवस्था गर्ने लगायतका सम्झौताहरुमा सरकारले पटक–पटक हस्ताक्षर गरेको छ।’

‘केही वर्ष अगाडि पराशर कोइरालाको संयोजकत्वमा बनेको समितिले पदाधिकारी नियुक्तिको मापदण्डबारे प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सो प्रतिवेदन कार्यान्वयन गरेर मात्रै विश्वविद्यालयहरुमा नियुक्ति गर्न सरकारलाई हामीले बारम्बार आग्रह गर्दै आएका छौँ।’ केसीले भनेका छन्।

विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नु पर्ने, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नु पर्ने, दोषी मेडिकल कलेजहरूलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नु पर्नेसहितका माग डा. केसीको छ ।

यस्तै उनले शिक्षा तथा स्वास्थ्य उपसमितिले गरेको मेडिकल कलेजको शुल्क र सिट संख्यामा वृद्धि लगायतका निर्णय खारेज गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल चिकित्सा शिक्षा सञ्चालन गर्नु पर्ने, प्रदेश २ र गण्डकी तथा डोटी, डडेल्धुरा, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडी बढाउनु पर्ने माग गरेका छन् ।