महरा रोशनी शाहीको घरमा गएको प्रमाण भेटियो
काठमाडौं- सहकर्मीलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पदबाट राजिनामा नै दिएका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पिडित भनिएकी रोशनी शाहीको निवासमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
शाहीले आफूलाई धम्क्याएर भिडियो बनेको आरोप लगाउँदै पछिल्लो समय महरा आफ्नो घरमा आउंदै नआएको दाबी गरेकी थिइन् ।
महराले बलात्कार प्रयास गरेको र कुटपिट गरेको भन्दै हाम्राकुरा अनलाईनमा बयान दिएकी रोशनी शाहीले मंगलबार साँझ भने सबैलाई चकित पार्नेगरी आफ्नो बयान फेरेकी थिइन ।
प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ ।
स्रोतकाअनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।
प्रहरी स्रोतका अनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । १ घण्टा १९ मिनेटमा उनी त्यहाँबाट फर्किएका थिए ।
त्यहाँबाट महरा सोझै सभामुख निवास पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिएको छ ।