राप्रपाले दिल्लीमा बनायो प्रवास समिति - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

राप्रपाले दिल्लीमा बनायो प्रवास समिति



नयाँ दिल्ली- राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारत अन्तर्गत दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले हिक्मत चन्दको अध्यक्षतामा समिति बनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक महामन्त्री बर्तौलाले मुलुकले गुमाएको गौरबशाली इतिहासलाई फर्काउने अभियानमा जुट्न प्रबासमा रहेका नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने बिचार व्यक्त गरे ।

नेपालको राजनीतिमा स्पष्ट बिचार र अलग पहिचानका साथ क्रियाशील राप्रपालाई स्थापित गर्न उच्च मनोबलका साथ पार्टी अगाडि बढिरहेको चर्चा गर्दै बर्तौलाले मुलुकमा भइरहेको बेथिति, विसङ्गति, बेरोजगारी र भ्रष्टाचारको विषयमा सबैको खबरदारी हुनु पर्नेमा जोड दिए । गरिबी र अशिक्षाको फाइदा उठाउँदै गाउँको गाउँ धर्म परिवर्तन गरिएकोमा तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले सरकार धार्मिक द्वन्द्व गराउने तर्फ उन्मुख भएको र राज्य सर्बसत्ताबादको बाटो तर्फ गएकोमा रोष प्रकट गरे ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले प्रवासी नेपालीहरूलाई राप्रपाको झन्डा मुनि गोलबद्ध गराउँदै सङ्गठनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । उनले चाडैं नै भारतका प्रमुख सहरहरूमा समिति गठन गरी सम्मेलन गरिने समेत जानकारी दिए । कार्यक्रममा हिन्दु एकता मञ्च नेपालका संयोजक गणेश रिमाल, हिन्दुबादी नेताहरू महेन्द्र केसी, केबि थापा, राप्रपा बैतडी अध्यक्ष प्रेम बहादुर चन्द ,आचार्य सुजन पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले अध्यक्ष हिक्मत चन्द, उपाध्यक्षद्वय प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिव गोकर्ण ओली, प्रवक्ता सिबि क्षेत्री , कोषाध्यक्ष शुभ दाहाल रहेका छन् ।