विप्लव समुहले लुकाएको ठूलाे परिमाणकाे बिस्फाेटक पदार्थ बरामद
झापा- प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ । बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ ।
झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले बिस्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले बिस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बम बिस्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
बिस्फोटक पदार्थको परिमाणबारे प्रहरीले जानकारी दिइसकेको छैन । छापा मार्दा प्रहरीले विप्लव माओवादी कार्यकर्ता भने फेला नपरेको जनाएको छ । बरामद भएको बिस्फोटक पदार्थको परिमाणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।