मिनेन्द्र रिजालमाथि आक्रमणबारे काङ्ग्रेस 'फायर' - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

मिनेन्द्र रिजालमाथि आक्रमणबारे काङ्ग्रेस ‘फायर’



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएको बुझिएको छ ।

भवन उद्घाटन गर्नबाट रोक्न ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै रिजालसहितका नेताहरु चढेका गाडीमा ढुंगामुढा गरिएको थियो । बाटो अवरुद्ध गरेर बसेका नेकपा कार्यकर्ताहरुले हातहतियार र लाठीले आक्रमण गर्न खोजेको डा. रिजालले दाबी गरेका छन् ।

प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप पनि उनले लगाए । नेकपा कार्यकर्ताको अवरोधका बावजुद नेता रिजाल रिसिङ गाउँपालिका पुगेर भवन उद्घाटन गरेका छन् । यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको भवन उद्घाटन गर्न गएका नेताहरुमाथि मण्डले शैलीमा आक्रमण गरी नेकपाले फाँसीवादी चरित्र देखाएको भन्दै भर्त्सना गरेका छन् ।