फिलिपिन्समा शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

फिलिपिन्समा शक्तिशाली भूकम्प



एजेन्सी- दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ।

फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो। इन्डोनेसिया भूकम्पीय जोखिममा रहेको मुलुक हो। गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका थिए। भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको थियो।

फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे आएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराईमा रहेको थियो। प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीहरुले जनाएका छन्।

तर भूकम्पका परकम्पन आउनेक्रम जारी रहेको छ। फिलिपिन्सका किडापावान, डाभाओ, सारानगानी, जेनेरल सान्तोस, कागायान डी ओरो, जिनगूग र बिसलिग शहरमा पनि अनुभव गरिएको थियो।