सर्वेन्द्र खनालको जहाज डुब्दै: यसरी हुँदैछन बर्खास्त - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

सर्वेन्द्र खनालको जहाज डुब्दै: यसरी हुँदैछन बर्खास्त



-एमराज खनाल

काठमाडौं- प्रहरीको सर्वोच्च पद सम्हालेपश्चात् कैयौँ पटक गृह मन्त्रालयमै बोलाएर हप्काई खाएका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। एकपछि अर्को प्रकरणमा मुछिँदै गएपछि महानिरीक्षक खनाल बर्खास्त हुने चरणमा पुगेका हुन्।

भ्रष्टाचारमा मुछिएका खनाल करोडौँ रकम आर्थिक अनियमितताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीव्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो।

केही साताअघि मात्र पत्रकार रवि लामिछानेलाई भेट्न चितवन कारागार पुगेपछि उनलाई मन्त्रालयमै बोलाएर सचिव र मन्त्रीले थुरेको कुरा बाहिरिएको थियो। अहिले भने अख्तियारले एक्सन लिएपछि यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबिच लामो छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले उनलाई हटाउने निर्णय नै लिइसकेका छन् तर, नजिकै आइरहेको दसैँ र त्यसपश्चात् हुने चिनिया राष्ट्रपति सी जिनपिंगको भ्रमणमा हुने सुरक्षा सम्बेदनशीलतालाई हेरेर केही दिनमा उनलाई निष्कासन गर्ने तयारी भएको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी २ वर्षदेखिका फाइल नियन्त्रणमा लिएर अनुसन्धानलाई तीव्रता दिएको छ। उनी धेरैवटा ठुला भ्रष्टाचार प्रकरणमा मुछिएको बुझिएको छ।

सरकारको काउन्टर

यसै अवस्थामा महानिरीक्षक खनालले पद जोगाउन अनेक हत्कण्डा अपनाउने प्रयास गरेकोले सरकारले उनलाई काउन्टर दिएको स्रोतको दाबी छ । उनको काम कारबाहीबाट आजित भएपछि सरकारले खनालसँग परामर्श नै नगरी तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरूको सरुवा निर्णय गरेको हो। यससँगै खनाल शक्तिहीन बनेका छन्। स्रोतका अनुसार यो सरुवाबाट खनाल एकदमै सशङ्कित बनेका छन्। उनले काम गर्ने बातावरण नै नहुनेगरी यो सरुवा गरिएको छ ।

यति मात्र होइन मङ्गलवार भएको मन्त्रीपरिषद् बैठकले उनको अमेरिका भ्रमणको प्रस्ताव पनि अस्वीकृत गरिदिएको छ। अक्टोबर २६ देखि २९ सम्म अमेरिकाको सिकागोमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा खनाललाई निमन्त्रणा पत्र आएको थियो।

२०७६ जेठको तेस्रो साता भारत सरकारले खनाललाई भ्रमणको निमन्त्रणा आएपछि सो भ्रमण पनि गृहले रोकेको थियो ।

कसरी आयो यस्तो अवस्था

महानिरीक्षक खनालका क्रियाकलापहरू विगत केही महिनादेखि प्रधानमन्त्री र गृहमन्त्रीले निगरानी गरिरहेको स्रोत बताउँछ। गत चैतमा थाइल्यान्डको बैंककमा भएको बिमस्टेक राष्ट्रका सुरक्षा सल्लाहकारहरूको बैठकमा आइजिपी खनालले नेपालको परराष्ट्र नीतिविरुद्ध आएको भारत सरकारका सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्ताव अनुमोदन गरेका थिए। गृहमन्त्रालयलाई नै अप्ठेरोमा पार्नेगरी गरेको उक्त बुँदा सरकारले पछि खारेज गरेको थियो।

यो बाहेक निर्मला काण्डमा पनि खनालले सरकारलाई अप्ठ्यारोमा पारेको सरकारको निष्कर्ष छ। भने पछिल्लो समय भएका फेक इन्काउन्टरले पनि सरकारलाई सोच्न बाध्य बनाएको छ। रवि लामिछाने प्रकरणमा गृहलाई जानकारी नै नगराई मर्यादा भुलेर कारागारमा रहेका व्यक्ति भेट्न चितवन पुगेको भन्दै स्पष्टीकरणसमेत सोधिएको थियो।

आइजिपी खनाल प्रहरी प्रमुख भएकै बेला अख्तियारले मुख्यालयमै छापा हानेर अनुसन्धान गरिरहेको छ। खनाल केही ठुला घोटालामा मुछिएको ठहर गरी २ वर्षसम्मका फाइल अख्तियारले नियन्त्रणमा लिएको छ भने यो विषयमा निकै तीव्र रूपले छानबिन भइरहेको स्रोतले जनाएको छ।

मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरेको, बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रष्टाचार गरेको र गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुटमा आर्थिक अनियमितता गरेको आरोप उनीमाथि छ।