गाई काट्ने ३ पक्राउ: ५० किलो गाईको मासु बरामद
बाँके – गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एक जना भने फरार रहेका छन् । राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो’, इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिए ।
तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उहाँले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए । उनले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने बताए ।