‘सी’ को भ्रमण: हवाइ गस्ती सहित यसरी हुँदैछ सुरक्षा प्रवन्ध - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

‘सी’ को भ्रमण: हवाइ गस्ती सहित यसरी हुँदैछ सुरक्षा प्रवन्ध



सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च स्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ । चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ फर्कने सुरक्षा उच्च स्रोतले बताएको छ । तथापि, औपचारिक रूपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने समिट पछि उनी नेपाल आउने बताइएको छ । उनी सोल्टी होटलमा बस्ने कार्यक्रम दुतावास स्रोतले बताएको छ । जसका कारण प्रहरीले उनको भ्रमण हुने क्षेत्रमा अहिलेदेखि नै विशेष निगरानी सुरु गरेको छ । २६ असोजमा उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् भने २७ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ । सरकारले सुरक्षा रणनीतिसहित यी सबै विषयमा विशेष सुरक्षा संयन्त्र तयार गर्न सुरु गरेको छ ।

चिनियाँ राजदूतावासले समेत सुरक्षाको अवस्थाको अध्ययन गरिरहेको छ । सीको नेपाल भ्रमण हुने निश्चित भएसँगै चीनबाट उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् । उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।
‘सी’को सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोलीसमेत नेपाल आइसकेको स्रोतको दाबी छ । ‘उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूक्ष्म निरीक्षणसमेत गरिसकेका छन् । यसैगरी मुस्ताङ, रसुवा, नुवाकोट र गोरखाका नाकामा समेत निरीक्षण गरेका छन्,’ स्रोतले भन्यो । ‘सी’ भ्रमणका समयमा नेपाली सुरक्षाकर्मीभन्दा अघिको ‘रिङ’मा चिनियाँ सुरक्षाकर्मी नै रहने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी

सरकारले चिनियाँ राष्ट्रपति ‘सी’ को भ्रमणका बखत नेपाल प्रहरीलाई पहिलो सुरक्षा घेराको जिम्मेवारी दिने गरी तयारी अघि बढाएको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाका लागि खटाइँदै छ ।

ठूलो संख्यामा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिँदै छ । हतियारसहित र हतियारबाहेक पनि सूक्ष्म निगरानीका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारी पक्षबाट भइरहेको गृह स्रोतले बतायो ।

यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत सुरक्षाकर्मी खटिने छन् भने भ्रमणका बखत पर्ने सडकका रुटमा गोप्य रूपमा सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । सरकारले सबै सुरक्षा अंगबाट गरी करिब १० हजारको संख्यामा सुरक्षाकर्मी खटाउने तयारी गरेको बताइएको छ ।

सेनाको हवाइ गस्ती
‘सी’ नेपाल आउनुअघिबाट नै नेपाली सेनाले राजधानीमा हवाइ गस्ती गर्नेछ । विमानस्थलदेखि होटलको रुट र होटलदेखि राष्ट्रपति निवाससम्ममा पर्ने सडकमा समेत सेनालाई हेलिकोप्टरमार्फत स्कर्टिङमा खटाउने सरकारको तयारी छ ।

कुनै चुनौती छैन : प्रहरी

भीआईपी तथा भीभीआईपीको सुरक्षामा नेपाल प्रहरीसँग लामो अनुभव रहेकाले चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्था मजबुद हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले बताए ।

डीआईजी पोखरेलले भने, ‘भीआईपी तथा भीभीआईपीको सुरक्षामा प्रहरीको अनुभव र सबै सुरक्षा निकायको एकीकृत समन्वयात्मक परिचालनबाट भ्रमणमा उत्कृष्ट सुरक्षा व्यवस्था हुनेछ ।’
उनले नेपालमा हाल कुनै पनि किसिमको सुरक्षा चुनौतीको नरहेको दाबी गरे । उनले भ्रमणको केही दिनअघिबाट नै प्रहरीले ‘सिटी क्ल्यिरेन्स’ अभियान सुरु गर्नेसमेत बताए ।

‘राजधानीका होटल, लज, रेस्टुरेन्ट तथा शंकास्पद देखिएका स्थानमा प्रहरीले विशेष निगरानी राख्नेछ भने शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउसमेत गर्नेछ,’ उनले भने । सो समय राजधानी भित्रिने सबै नाकामा समेत प्रहरीले कडाइ गर्ने तयारी छ । राजधानीमा खबर छ